कोशीमा एमाले–कांग्रेस–राप्रपाको संयुक्त सरकार बन्ने : मुख्यमन्त्री कांग्रेसलाई
कोशी प्रदेश संसदमा कसैको बहुमत नभएको अवस्थामा संयुक्त सरकारको सम्भावना बढेको गएको छ । एमाले नेतृत्व र कांग्रेस नेतृत्वको गठबन्धनमा दुवैतिर ४६ जना सांसद रहेकाले संयुक्त सरकारको विकल्प नरहेको हो ।
अहिलेको अवस्थाले संयुक्त सरकार बन्न नसक्दा मध्यावधि निर्वाचन टार्न नसक्ने देखिएको छ । मध्यावधिमा नगएर संयुक्त सरकारका लागि एमाले बाधक नबन्ने भनाइहरु आउन थालेका छन् ।
प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार एमाले कांग्रेससँग मिलेर सरकार गठनका लागि तयार रहेको अभिव्यक्ति दिनु भएको छ । कोशी प्रदेशमा गठबन्धन सरकार असंवैधानिक सर्वोच्च अदालतले घोषणा गरेपछि मुख्यमन्त्रीको जिम्मेवारी संहाल्न विराटनगर फर्कनु भएका कार्कीले विमानस्थलमा पत्रकारसित कुरा गर्दै संयुक्त सरकारको सम्भावना देखाउनु भएको हो ।
हिजो बिहीबार सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको सरकारलाई बदर गरेसँगै पुनर्वहाली भएका कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनः कार्यभार सम्हाल्न शुक्रबार काठमाडौंबाट फर्कनु भएको छ ।
सोही क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त भेटमा प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने प्रष्ट पार्नुभयो ।
पत्रकारहरुको प्रश्नमा कार्कीले भन्नुभयो, ‘कांग्रेसलाई मुख्यमन्त्री दिन हामी तयार छौं । बहुमत नभएपछि मुख्यमन्त्री दिन पनि तयार हुनुपर्छ ।’