यस बर्षको पीरफेरे मेला फागुन १२ गते, मेलाको आकर्षण बढाउन विभिन्न झाँकी प्रदर्शन गरिने

न्यूज समय

दाङको गोरक्ष पात्रदेव सिद्धरत्ननाथ मठको पीर स्थापना अनुष्ठान एवं पीरफेरे मेलाको आकर्षण बढाउन यस बर्ष बिभिन्न झाँकी प्रदर्शन गरिने भएको छ ।

मेला व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले मेलाको महत्व र आकर्षण बढाउन बिभिन्न समुदायलाई भाँकी सहितको प्रदर्शन गर्न आव्हान गरिएको छ ।

पीरफेरे मेला व्यवस्थपन समितिका संयोजक एवं घोराही उप–महानगरपालिका–१७ का अध्यक्ष रामलौटन चौधरीले मेलामा यस पटक विभिन्न सांस्कृतिक र धार्मिक समूहलाई झाँकी प्रदर्शन गर्न आव्हान गरिएको बताए ।

केही बर्ष यता मेलाको आकर्षण घट्दै गएको यो अवस्थामा थारु, मगर, सोरठी, टप्पा, पैसेंरु, मयुर नाच लगाएतका झाँकी प्रदर्शनले मेलाको महत्व र आकर्षण बढाउने भएकोले यस्तो पहल भएको मठका सचिव हिरानाथ योगीले जानकारी दिए ।

यहि फागुन १२ गतेका दिन मठको मुख्य पुजारी “पीर” तथा भण्डरी, सिरानी लागएतका पुजारीहरु पनि परिवर्तन गर्ने परम्परा चल्दै आएको पनि सचिव योगीले बताए ।

झण्डै १३ सय बर्ष अगाडी चौघरा क्षेत्रका राजा रत्न पारखुले गोरखनाथ भगवानको आर्शिवाद प्राप्त गरी सिद्ध भए पछि आफु संग भएको सम्पूर्ण सम्पत्ति आश्रमलाई दान गरी पात्रदेव स्थापना गर्दै पुजा पाठको सुरुवात गरेको विश्वास छ । सोहि दिनको अवसरमा “पीर” मुख्य पुजारी परिवर्तन गर्ने दिन भएकाले त्यस दिनलाई पीरफेर्ने दिनका रुपमा लिईदै आईएको छ ।

यस दिन चौघरा मन्दीर परिसरमा ठुलो मेला लाग्ने गर्दछ ।

मेलाको प्रचार प्रसारमा नेपाल पत्रकार महांसघ दाङ शाखाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।