भोटेकोशी बाढी प्रभावितहरुलाई सरकारले विद्युत सेवामा राहत दिने घोषणा गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्का बेला प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुभूति दिलाउने उद्देश्यले विद्युत् सेवामा सहुलियत दिन लागिएकोे बताएका छन् ।
बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङका विभिन्न प्रभावित परिवार सहित त्यहाँका व्यवसायीले पनि विद्युत् सेवामा तत्काल राहत दिने घोषणा सरकारले गरेको हो ।
मन्त्रीको निजी सचिवालयका अनुसार मन्त्री श्रेष्ठले ‘छिमेकीलाई हाम्रो साथ’ भन्ने भावनाअनुसार अन्य ग्राहकबाट भुक्तानी भएको शुल्कबाट समेत प्रभावित परिवारको राहतमा उपयोग हुने गरी आवश्यक निर्णय अघि बढाइएको छ ।
बाढीबाट क्षति पुगेका ग्राहकका हकमा भदौ महिनादेखिको न्यूनतम विद्युत् बिलिङ नगर्ने निर्णय भएको र क्षतिग्रस्त घर, व्यवसाय तथा उद्योगलगायतका ग्राहकको विद्युत् मिटरको लगत कट्टा समेत गरिने छ ।
साथै प्राधिकरणले लगत कट्टा गरिएका प्रभावित ग्राहकले पुनः विद्युत् सेवा लिन नयाँ मिटर माग गरेमा निःशुल्क उपलब्ध गराउने निर्णय भएको पनि मन्त्री श्रेष्ठको सचिवालयले बतायो ।


न्यूज समय
३१ भदौ, २०८३, बुधबार १७:०३