युवा संघको राष्ट्रिय कार्यकर्ता भेला माघ १२ गते काठमाडौँमा

न्यूज समय

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवासंघ नेपालले कार्यकर्ता भेला बोलाएको छ । शिक्षा, रोजगारी, उद्यमशीलता, सामाजिक न्याय, समावेशिता र नवीनतामा आधारित योजनाहरुलाई अगाडि सार्दै युवालाई नीति निर्माणमा सहभागी गराउने उद्देश्यले आगामी माघ १२ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको युवा संघले जनाएको छ ।

कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा बिहान ८ बजेदेखि शुरु हुने भेलामा केन्द्रीय कमिटी, केन्द्रीय आयोगका सम्पूर्ण कमिटी तथा विज्ञ युवा परिषद्का सम्पूर्ण कमिटी, प्रदेश कमिटीका प्रतिनिधिहरु उपस्थित हुनेछन् ।

प्रत्येक विभागबाट पाँच जना, अन्तर जिल्ला कमिटीका अध्यक्ष, काठमाडौं, ललितपुर र भक्तपुरका पालिकाका अध्यक्षहरुले पनि भेलामा सहभागिता जनाउनेछन् ।

नेकपा एमालेको आन्तरिक जीवनमा युवासंघको भूमिका महत्वपूर्ण मानिन्छ । सरकार र पार्टी नेतृत्वविरुद्ध चौतर्फी आक्रमण र घेराबन्दी हुँदा पनि युवासंघले प्रतिवाद गर्न नसकेको भन्दै आलोचना भैरहेको छ । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सचिवालय बैठकमै असन्तुष्टि प्रकट गरेका थिए ।