काँग्रेसले आउँदा चुनावहरुमा अन्य दलसँग गठबन्धन नगर्ने

न्यूज समय

नेपाली कांग्रेसले कसै संग पनि लेनदेनलाई राजनीतिक सहकार्य नगर्ने प्रतिवद्धता जनाएको छ ।

काठमाडौंमा जारी १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रस्ताव पेश गर्दै भविष्यमा हुने कुनै पनि निर्वाचनमा चुनावअघि अन्य दलसँग गठबन्धन नगरी स्प्रस्ट नीति सहित अघि बढ्ने उद्घोष गरेको हो ।

सभापति थापाले अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्ष निकाल्दै अव आउने चुनावहरुमा नेपाली काँग्रेसले चिह्न रुखमा मात्रै चुनाव लड्ने दृढ संकल्प गरिएको बताए ।

पार्टीले के गर्ने र के नगर्ने भनेर छुट्याएको राजनीतिक मर्यादा खण्डमा पनि निर्वाचन पूर्व गठबन्धन र मतको अंकगणितमा आफ्नो पहिचान निर्भर नबनाउने भन्दै सभापति थापाले प्रतिस्पर्धा गर्दै जित्न योग्य बन्ने पार्टीको घोषणा गरिएको बताए ।

त्यस्तै काँग्रेसले निर्वाचन प्रणाली सुधारका लागि कुनै पनि उम्मेदवारलाई भोट हाल्दिनँ भन्न पाउने अधिकार अर्थात् ‘नो भोट’ वा कुनै उम्मेदवार स्वीकार नगर्ने विकल्पलाई सार्वजनिक बहसमा लैजाने प्रस्ताव पनि गरेको छ ।

यही १८ गते आईतबार देखि काठमाडौंमा जारी १५ औं महाधिवेशनमा देशभरबाट झण्डै ७ हजार ५०० प्रतिनिधिहरु महाधिवेशनमा सहभागि हुन काठमाडौंमा आएका छन् ।

१४ औं महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि सहभागि रहेकोमा यस पटक भातृ तथा शुवेच्छुक एवं विदेश स्थीत जनसम्पर्क समितिहरुबाट समेत प्रतिनिधि चुनिएर आएका छन् ।

आज सोमबार देखि सुरु भएको महाधिवेशनको बन्दसत्र पछि आजै निर्वाचनको थप प्रकृया अगाडी बढाइने पनि निर्वाचन समितिले जनाएको छ ।