मंगलवार राती मेलम्ची खोलाको मुहान क्षेत्रबाट आएको बाढीले हेलम्बु र मेलम्चीमा बेपत्ता भएका मध्य ७ जनाको शव भेटिएको छ ।
भेटिएका मध्य ५ जना पुरुष र २ जना महिला रहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । शव इन्द्रावती नदीको किनारमा आज फेला परेको थियो । जसमध्य ६ जनाको सनाखत भएको प्रहरीको भनाई छ ।
सनाखत भएकाहरुमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, वडा नम्बर ३ का ६५ वर्षीय टीकामाया खड्का, वडा नम्बर ७ का ४५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नम्बर ६ का ३५ वर्षीय चेङा तामाङ, चौतारा साँगाचोकगढी नगरपालिका निवासी कर्मचारी २३ वर्षीय समुन्द्र नेपाल रहेको प्रहरीले जनाएको छ । भने एक महिलाको सनाखत हुन सकेको छैन ।
बाढीले त्यस क्षेत्रका झण्डै पाँचसय मानिस बिस्थापित भएका छन् । प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, लगायत स्थानिय समेत उद्धारमा जुटेका छन् ।
उद्धार गरिएकालाई, सेनाको व्यारेक, स्कूल लगायतका अग्ला स्थानमा राखिएको छ ।
त्यस क्षेत्रमा भएको मानवीय र भौतिक क्षातिको अझै पूर्ण विवरण नआई सकेको र उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ ,
न्यूज समय
२ असार, २०७८, बुधबार ००:००