अध्यादेश बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

न्यूज समय


मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ। सो अध्यादेश बदरको माग गर्दै बुधबार अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन् ।

राष्ट्रपति भण्डारीले जारी गरेको अध्यादेश संविधानसँग बाझिएको भन्दै खारेज हुुनुपर्ने माग रिटमा गरिएको छ । सरकारको यस्तो रवैयाबाट संविधान माथिको जालसाजी द्रुत गतिमा भै राखेको र यसलाई समयमै रोकथाम नगरिएमा संवैधानिक मूल्यमान्यतामा व्यापक मात्रामा क्षति पुग्ने दावी निवेदनमा गरिएको छ।

महत्वपूर्ण संवैधानिक निकायको नियुक्तिका लागि सिफारिस गर्ने संयन्त्रको रूपमा संविधानले संवैधानिक परिषद्को कल्पना गरेको छ। जसमा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र प्रमुख प्रतिपक्षी दलको समेत सहभागिता संविधानले नै सुनिश्चति गरेकोमा अध्यादेशले यस्तो सन्तुलन बिगारेको छ।