शोभित बस्नेतको नयाँ चलचित्र ‘पीआर’ मा को को कलाकार

न्यूज समय


काठमाडौँ । शोभित बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘पीआर’ पर्मानेन्ट रेसिडेन्टमा मुख्य कलाकारको लाइनअप पूरा भएको छ । आइतबार दुईवटा पोस्टरमार्फत् कलाकारबारे जानकारी गराइयो । यो चलचित्र अष्ट्रेलियामा ७५ र नेपालमा २५ प्रतिशत छायांकन हुनेछ । यसमा आर ए सुरज पौडेल, विनिता कार्की, आस्मा अधिकारी, पूजा चौधरी र राजन कुँवरको मुख्य भूमिका रहनेछ । चार सयजनामा भएको अडिसनबाट उनीहरु पाँचजना छनोट भएका हुन् ।

सलोन सलिना फिल्म्सको ब्यानरमा बन्न लागेको चलचित्रको आगामी फेब्रुअरी ११ बाट छायांकन सुरु हुने निर्देशक बस्नेतले जानकारी दिए । यतिबेला निर्देशक बस्नेत फिल्मको तयारीका लागि अष्ट्रेलियामा छन् ।

यसमा उनी स्वयंको कथा छ । आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलियाका रन्जित शाह र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको ‘पीआर’मा कुशल थापा, विमला खत्री, म्याक्स, नवीन घायल लगायतको पनि अभिनय रहनेछ । गणेश बुढाथोकीको पटकथा तथा संवाद रहेको फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता तथा गणेश केसी कार्यकारी निर्माताको रूपमा छन् ।