अध्यादेशको व्यवस्थाप्रति गैरआवासीय नेपाली संघ बेल्जियमले आपत्ती,भिसाको प्रावधान हटाउन माग

न्यूज समय


काठमाडौं । सरकारले हालैमात्र गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले १० वर्ष नेपाल बस्दा निःशुल्क भिसा दिने गरी जारी गरेको अध्यादेशको व्यवस्थाप्रति गैरआवासीय नेपाली संघ बेल्जियमले आपत्ती जनाएको छ । गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सिता सापकोटाले विज्ञप्ती प्रकाशित गर्दै सो अध्यादेशको व्यवस्थाले गैर आवसीय नेपालीहरूको अवमुल्यन गरेको बताएकी छन् ।

उनले अध्यादेश नेपालको संविधान २०७२ को मर्म र भावना विपरित रहेको भन्दै विज्ञप्तीमा भनिएको छ– ‘नेपालको संविधानले राजनीतिक बाहेकका सवै अधिकार नेपाली नागरिक सरह पाउने कुरा सुनिश्चित गरिसकेपछि फेरी एनआरएनएले आफ्नो मातृभूमी जादा भिसा लाउनुपर्ने प्रावधानले सवै एनआरएनएहरूको अवमुल्यन भएको छ ।’

विज्ञप्तीमा निस्वार्थ ढंगले नेपालको हितमा होमिने एनआरएनएको आकाक्षांमाथि कुठाराघात माज्ञ नभई लगानीलाई समेत दुरुत्साहित गरेको उल्लेख छ । सापकोटाले विज्ञप्तीमा दोश्रो र तेस्रो पुस्ताका गैरआवसिय नेपालीलाई नेपालसंग जोड्न पहलमा समेत आघात पुगेको बताएकी छन् ।

उनले संसदबाट अध्यादेशको सो प्रावधान सच्याएर एनआरएनएलाई नेपाल आउदा भिसा लगाउनुपर्ने व्यवस्थाको अन्त्य गर्न समेत माग गरेकी छन् । उनले नेपाली भएर बंशजका आधारमा प्राप्त नागरिकतामा एनपी भन्ने छाप लगाएर नेपाली नागरिकताको सुनिश्चितता गरिदिन समेत माग गरेकी छन् ।