भट्टराईले सम्हाले जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखको कार्यभार
- १८ मंसिर, २०८१, मंगलवार ११:०९
- मुख्य समाचार
- न्यूज समय
ओखलढुंगा । नेपाली कांग्रेसका पुराना नेता टेकाराज भट्टराईले जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखको औपचारिक रुपमा कार्यभार सम्हालेका छन् । स्थानीय तह उपनिर्वाचन अन्तर्गत आइतबार भएको उम्मेदवारी दर्तामा जिल्ला समन्वय समितिको प्रमुख पदमा भट्टराईको मात्र उम्मेदवारी परेपछि उनी र्निविरोध निर्वाचित भएका थिए ।
अन्य दलहरुले जिल्ला समन्वय समितिको प्रमुखमा उम्मेदवारी दिएनन् । त्यसैले भट्टराई निर्विरोध निर्वाचित हुनुभएको हो । मुख्य निर्वाचन कार्यालयबाट आधिकारिक घोषणा हुन बाँकी छ । ओखलढुङ्गाका आठ स्थानीय तहमा १६ मत रहेका छ । जसमा नेपाली काँग्रेसका नौ, नेकपा एमालेको पाँच, नेकपा माओबादी केन्द्रको एक र जनता समाजवादी पार्टीको एक मत छ । नेकपा एमालेले विज्ञप्ति जारी गरेर भट्टराईलाई समर्थन गरेको थियो ।
कुशल संगठक ६७ वर्षीय भट्टराई राजनीति तथा सामाजिक रुपमा सक्रिय हुनुहुन्छ । भट्टराई काँग्रेस जिल्ला कार्य समिति ओखलढुङ्गाको पूर्व सचिव र महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । जिल्ला समन्वय समितिको प्रमुखमा निर्विरोध निर्वाचित हुन सहयोग गर्ने सम्पुर्णलाई वहाँले धन्यवाद दिएका छन् । यसअघि जिल्ला समन्वय समितिको प्रमुख डिल्लीराम खनालको उपचारका क्रममा २०८० भदौ १३ गते निधन भएको थियो । क्यान्सरका कारण ७२ वर्षको उमेरमा खनालको निधन भएपछि उक्त पद रिक्त थियो । सो पदका लागि उपनिर्वाचन भएको हो ।