नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्दबीच पार्टी एकीकरणबारे बिहीबार छलफल भएको छ ।
समाजवादी मोर्चा गठनको चौथो दिनमा दुई नेताबीच पार्टी एकताबारे भेट भएको स्रोतले जनाएको छ । मोहन वैद्य, रामबहादुर थापा, नेत्रविक्रमसहित केही प्रभावशाली नेताले ४/५ वर्षअघि पुष्पकमलसित असहमति जनाउँदै पार्टी फोरेका थिए । नेत्रविक्रम वैद्यलाई पनि छाडेर माओवादी पार्टी गठन गरेर महासचिव बनेका थिए । सो अवधिमा उनले केही सिंहात्मक घटना पनि घटाए ।
सरकारसँग टाढिरहेका चन्द एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि हिंसा छाडेर शान्ति प्रक्रियामा आएका हुन् । उनी केही दिनअघि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको भेटपछि समाजवादी मोर्चामा समाहित भएका थिए । पुष्पकमलले पार्टीका नेताहरु जनार्दन शर्मा र वर्षमान पुनलाई काउन्टर दिन चन्दलाई पार्टीमा भित्र्याउन लागेको भन्ने भनाइ पनि छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको वार्तामा समाजवादी मोर्चालाई प्रभावकारी तरिकाले अघि बनाउनेसम्बन्धमा छलफल भएको भनिए पनि पार्टी एकताको सन्दर्भले प्राथमिकता पाएको भन्ने भनाइ ।
प्रधानमन्त्री दाहालबिरुद्ध बालसैन्यको मुद्दा अदालतमा दर्ता, यौन हिंसा, क्यान्टोनमेन्ट घोटलाजस्ता विषय उठ्न थालेपछि सिंगो माओवादीप्रति आक्रमण भएको अभिव्यक्ति चन्दले दिएका थिए । यदि अहिले उठाइएका विषयले प्रमुखता पाए आफू पनि फसिने डर चन्दमा पनि छ । यसका लागि पूर्व माओवादीहरु एक भएमात्र १० वर्षे हिंसात्मक आन्दोलनको रक्षा हुने ठहर गर्दै पूर्व माओवादीहरु जोडिन थालेका छन् । यसैको पछिल्लो घटनाक्रम हो, पुष्पकमल र नेत्रविक्रमको भेट ।
न्यूज समय
७ असार, २०८०, बिहीबार ००:००