३० बैशाख २०८१, आईतवार  |  12 May 2024,Sunday
Ad

जाजरकोट भूकम्पमा १५७ जनाको मृत्यु, १९७ घाइते

उद्धारमा १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालित

शुक्रबार राति ११ः४७ बजे गएको बिनासकारी भूकम्पका कारण जाजरकोट र रुकम जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ । भूकम्पका कारण ज्यान गुमाउने र घाइतेको संख्या थपिँदै गएको छ ।

जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी १ सय ९७ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका अनुसार भूकम्पले जाजरकोटमा मात्रै १ सय ५ जनाको ज्यान लिएको छ । यस्तै रुकुम पश्चिममा पनि यो समाचार तयार गर्दासम्म ५२ जनाको शव भेटिएको छ ।

भूकम्पकै कारण जाजरकोटमा १ सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन तीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज, काठमाडौँ तथा अन्य सुविधासम्पन्न अस्पतालहरुमा पठाइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि १ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालित भएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेना स्रोतले जानकारी दिएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भई ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*