जनकपुर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले २०८४ को आम निर्वाचन भन्दा २ वर्ष अगाडि महाधिवेशन गराउन नसकेमा चुनावपछि महाधिवेशन गराउनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले आयोजना गरेको महेन्द्रनारायण निधिको स्मृति दिवस कार्यक्रममा बोल्दै डा. कोइरालाले चुनावको मुखमा महाधिवेशन गराउँदा कांग्रेसलाई घाटा हुने बताए । उनले भने–‘आम चुनावभन्दा पहिला अधिवेशन गराएको राम्रो हो । चुनावको मुखमा अधिवेशन गराउदा तिक्तता बाँकी हुने भएकाले घाटा हुन्छ ।
२०८२ सालमा गराउन नसक्ने हो भने महाविधेशन २०८४ को चुनाव पछि हुनुपर्छ । चुनावको मुखमा अधिवेशन गराउन हुँदैन ।’
डा. कोइरालाले कांग्रेसमा देखिएको ग्रुपिजम महाधिवेशनमा मात्र सिमित राख्नुपर्ने बताए । उनले महाअधिवेशनसंगै ग्रुपिजम पनि समाप्त हुनुपर्नेमा जोड दिए । कोइरालाले भने–‘पहिला देखि ग्रुपिजम थियो । यो गिरिजाप्रसादको ग्रुप, यो किसुनजीको, यो कोइरालाको यो देउवा, रामचन्द्रको हुँदा हुँदा प्रकाशमानको ग्रुप अहिले शशांकको पनि भन्न थालेका छन् । यो गर्न हुँदैन ।’
पूर्वमहामन्त्री कोइरालाले नेपाली कांग्रेस सवैभन्दा गतिशिल र चलायमान पार्टी भएको बताउदै अहिले मुलुकमा भएको सवै विकास कांग्रेसका कारण भएको दाबि गरे ।
कोइरालाले कांग्रेसले युवालाई आर्कषण गराउने खालका काम गर्नुपर्नेमा जोड दिदै ६० प्रतिशत जनसंख्या ४० वर्ष मुनिका युवाहरु मध्ये कांग्रेसको केन्द्रीय समितिमा १ जना युवा पनि नभएको गुनासो गरे ।
कोइरालाले सुशाशन दिएर जनताको काम छिटो छरितो ढंगले हुने संरचना बनाएर युवाहरूमा आशा भर्नुपर्ने बताए । सरकारमा गएपछि, मन्त्री बनेपछि युवालाई आशा जगाउने काम गर्न सक्नुपर्छ ।
न्यूज समय
१३ फाल्गुन, २०८१, मंगलबार ००:००