एमालेको नेतृत्वमा केपी ओली रहँदासम्म नेपालका कम्युनिष्ट एकता असम्भव

न्यूज समय

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्व गरिन्जेलसम्म वामपन्थी एकता सम्भव नहुने स्पाष्ट पारेका छन् । सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमालेको नेतृत्वमा केपी ओली रहँदासम्म नेपालका कम्युनिष्ट एकता, वामपन्थी एकता सम्भव नभएको बताएका हुन् ।

अध्यक्ष दाहालले आफूहरुको ध्यान सरकारमा नरहेको प्रष्टीकरण दिए । प्रधानमन्त्री ओली अहिलेको आन्दोलन, परिवर्तन बर्बाद गर्न र संविधान खारेज गर्न चाहने व्यक्ति भएको दाहालले आरोप लगाए । मधेसी जनताको लागि दुईपटक संसदमा संविधान संशोधनको प्रस्ताव गर्दा प्रधानमन्त्री ओलीले नै रोकेको खुलासा गरे ।

उनले अहिले देशको स्थिति सहज रुपमा अघि बढ्न नसकेको बताए। उनले अध्यादेश राष्ट्रिय सभामा बहुमत पुर्‍याउन नसक्दा अघि बढ्न नसकेको बताए। उनले जनता समाजवादी पार्टीले आफ्नो मुद्दा छोडेर समर्थन नगरेको खण्डमा अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने जिकिर गरे। उनले दुई तिहाईको सरकार अध्यादेशको बाटोमा जानु नै गलत रहेको बताए।