बेनी । प्रतिनिधिसभा सदस्य देवी भट्टचनले समग्र बागलुङ क्षेत्र र ढोरपाटनको आर्थिक समृद्धिका लागि कृषि, पर्यटन, र जलविद्युत क्षेत्रलाई मुख्य आधार बनाउनुपर्ने बताएका छन् । मंगलबार ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै सांसद भट्टचनले ढोरपाटन र समग्र बागलुङ क्षेत्रको विकासमा आफ्नो पूर्ण प्रतिबद्धता रहेको बताए ।
उनले आलु, स्याउ र किबी जस्ता कृषि उत्पादनहरू यहाँ प्रशस्त मात्रामा हुने भएकाले आधुनिक कृषि प्रणालीलाई प्रवर्द्धन गर्न आवश्यक रहेको उल्लेख गरे । सांसद भट्टचनले अहिले ढोरपाटनमै जन्मिएका तीन जना प्रदेश सांसद तथा आफू संघीय सांसद रहेको उल्लेख गर्दै यस क्षेत्रको समुचित विकासका लागि सबै पक्षले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
नेपालकै एकमात्र शिकार आरक्ष क्षेत्र रहेको ढोरपाटनलाई पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्न थप पहल आवश्यक रहेको बताउँदै सांसद भट्टचनले जलाशययुक्त विद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी दिए। उक्त आयोजना यस क्षेत्रका साथै समग्र देशकै ऊर्जा विकासका लागि महत्त्वपूर्ण हुने उनको भनाइ छ।
न्यूज समय
२३ माघ, २०८१, बुधबार ००:००