काठमाडौं । दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपति यून सुक येओललाई पक्राउ गर्न अनुसन्धानकर्ताहरुले फेरि प्रयास गरिरहेका छन् । अदालतले राष्ट्रपति येओलविरुद्धको अघिल्लो पक्राउ पुर्जीको म्याद थप गरेपछि उनीहरुले पक्राउ गर्न फेरि प्रयास गरिरहेका बीबीसीले जनाएको छ ।
गएको डिसेम्बरमा सैनिक शासन ल्याउने ‘मार्शल ल’ लागू गर्ने अल्पकालीन प्रयासपछि विद्रोहको आरोपमा उनीमाथि महाअभियोग लगाइएकाले अनुसन्धान भइरहेको छ । अनुसन्धानको क्रममा येओललाई पक्राउ गर्न यसअघिको पहिलो प्रयास असफल भएपछि दोस्रो पटक तयारी भएको हो । पहिलो प्रयासमा येओलको समर्थकले अवरोध गरेका थिए ।
दक्षिण कोरियाका अधिकारीहरु येओलको निवासमा उनलाई पक्राउ गर्न भन्दै पुगेपछि ठूलो सङ्ख्यामा उनका समर्थक र आलोचक दुवै जम्मा भएका छन् । झण्डै हजार जना प्रहरी अधिकारीहरू पनि तैनाथ गरिएको खबरमा उल्लेख छ ।केही प्रदर्शनकारी र प्रहरीबीच बिहानै झडपसमेत भएको छ ।
पक्राउमा अवरोध हटाउन पहिला येओलका सुरक्षा महाशाखाका प्रमुखलाई पक्राउ गर्न प्रहरीले प्रयास गरिरहेको छ । यसैबीच राष्ट्रपति येओलको महाअभियोग प्रस्तावमा संसदमा हिजोदेखि छलफल शुरू भएको छ । यस छलफलले उनलाई पदबाट हटाउने वा नहटाउने निस्कर्ष दिने छ ।
न्यूज समय
२ माघ, २०८१, बुधबार ००:००