८ आश्विन २०८१, मंगलवार  |  24 September 2024,Tuesday
Ad

विद्यालाई कमजोर बनाउन विष्णु पौडेलको शक्ति छेदन गर्दै केपी ओली

काठमाडौं । पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने स्पष्ट भइसकेको छ । भण्डारी सक्रिय राजनीतिमा आउने भएपछि सबैभन्दा बढी सशंकित नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भएका छन् । पूर्वराष्ट्रपति भण्डारी सक्रिया रजनीतिमा आउने भएपछि ओली सशंकित बने पनि यसका चेपुवामा भने उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल परेका छन् । अर्थमन्त्री पौडेल पूर्वराष्ट्रपति भण्डारी निकट मानिन्छन् । नेकपा एमालेको उच्च स्रोतका अनुसार एमालेको भावी नेतृत्व भण्डारीले हत्याउने हुन् कि भन्ने शंकाले प्रधानमन्त्री ओलीले अहिलेदेखि नै भण्डारीलाई कमजोर पार्ने अभियान सुरु गरेका छन् ।

विधान संशोधन गरेर ७० वर्षे उमेर हद हटाउँदै फेरि एकपटक एमालेको अध्यक्ष बन्ने ओलीको चाहनालाई भण्डारी बाधक बन्ने देखिएपछि ओलीले भण्डारीलाई कमजोर बनाउने अभियान थालेका हुन् । ओलीको यो अभियानको पहिलो सिकार विष्णु पौडेल भएका छन् । ओलीले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मा दिए पनि यो पटक पौडेलले अर्थ मन्त्रालय निर्धक्क साथ चलाउने नपाउने स्थिति देखा परेको अर्थ मन्त्रालयतिर चर्चा चल्न थालेको छ ।

पौडेललाई यो कार्यकालमा निर्धक्क साथ अर्थ मन्त्रालय चलाउन नदिने संकेतहरू अर्थ मन्त्रालयमा देखिन थालेको कर्मचारीहरूका बीचमा पनि चर्चा चल्न थालेको छ । यसैका लागि ‘डिफ्याक्टो’ अर्थमन्त्रीका रूपमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री ओलीले आर्थिक सल्लाहकार नियुक्त गरेका छन् । प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त भएपछि डा. खतिवडाले ‘डिफ्याक्टो’ अर्थमन्त्रीका रूपमा साउन ४ गते ल्याउने तयारी गरेको मौद्रिक नीति रोकेका थिए । खतिवडाले मौद्रिक नीति आफूले हेर्नपर्ने भन्दै रोकेका थिए । गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री पौडेललाई मौद्रिक नीतिका बारेमा ब्रिफिङ गरिसकेका थिए । तर खतिवडा प्रधानमन्त्रीको सल्लाहकार भएपछि एकाएक मौद्रिक नीति रोकिएको अर्थ मन्त्रालयको उच्च स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई विद्या भण्डारीलाई कमजोर पार्ने अभियानअन्तर्गत नै अर्थमन्त्री पौडेलको शक्तिलाई लुम्बिनी प्रदेशमा पनि छेदन गरिएको छ । पौडेल निकट रहेका नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता लीला गिरीलाई अन्तिम समयमा मुख्यमन्त्री बन्नबाट रोकिएको छ । गिरीलाई मुख्यमन्त्री बन्न रोकेर महासचिव शंकर पोखरेल निकट चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउँदै विष्णु पौडेलमार्फत पूर्वराष्ट्रपति भण्डारीको शक्ति छेदन गरिएको लुम्बिनी प्रदेशसभामा सांसदहरूका बीचमा चर्चा चल्ने गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*