पार्टी संगठन सुदृढीकरणका लागि जिल्लाको नेतृत्व गर्ने नेताको नाम सार्वजनिक
सत्तासीन नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरणका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेतालाई पार्टी प्रतिनिधिका रुपमा तोकेको छ । जिल्लाहरुमा खटाइएका नेताहरुमा अधिकांश पार्टी केन्द्रीय सदस्य र केहीमा पूर्व केन्द्रीय सदस्यलाई पनि खटाइएको छ । तर सांसद भएका केन्द्रीय सदस्यलाई भने कुनै जिल्ला पठाइएको छैन ।
पार्टीले केन्द्रबाट खटाइएका प्रतिनिधिहरु पहिलो चरणमा साउन २० देखि ३० सम्म आन्तरिक पार्टी संगठन सदृढीकरणका लागि परिचालित हुने छन् । त्यसपछि दोस्रो चरण भदौ १० देखि २४ गतेसम्म जिल्ला जिल्लामा रहने छन् ।
जिल्ला जाने केन्द्रीय प्रतिनिधिहरुले पहिलो चरणमा पार्टीको आन्तरिक संरचनाको काम गर्नेछन् । जसमा कार्यसमिति अपूर्ण छ भने पूर्णता दिने, बैठक बसाल्ने, त्यसबाट समग्र जिल्लामा पार्टीको अवस्था र तल्लो तहको संगठनबारे रिपोर्टिङ लिनेलगायत काम गर्ने छन् । त्यस्तै आन्तरिक विवाद रहेमा समाधान गर्ने, जिल्ला सम्मेलन नभएकामा सम्मेलनको तिथिमिति तोक्ने, नयाँ क्रियाशील सदस्यता वितरण, नवीकरणजस्ता कार्य हुनेछन् ।
त्यस्तै गरी पार्टी केन्द्रीय समिति बैठकले तोकेको सेवा दल गठनको प्रक्रियाका लागि केन्द्रीय सदस्यहरुले सहजीकरण गर्नेछन् । यससम्बन्धी निर्णय अघिल्लो बैठकमै भएको थियो ।
दोस्रो चरणअन्तर्गतको कार्यक्रम भदौ १० देखि २४ गतेसम्मको अभियानमा नागरिकसँग जोडिएर केन्द्रीय सदस्यहरुले गतिविधि सञ्चालन गर्नेछन् । यसलाई पार्टी समुदायमा आधारित राष्ट्रव्यापी अभियान नाम दिएको छ । जसमा केन्द्रीय प्रतिनिधिका रुपमा जिल्ला आएकाहरुले समुदायमा गएर प्रत्यक्ष कुराकानी गर्ने र उनीहरुको कुरा सुन्ने छन् ।



न्यूज समय
१७ श्रावण, २०८०, बुधबार ००:००