सुन काण्डमा गहिरो अनुसन्धान नभए गृह र अर्थ मन्त्रीको राजीनामा माग्ने प्रदीप पौडेलको चेतावनी
- १४ श्रावण, २०८०, आईतवार ०५:२२
- मुख्य समाचार
- न्यूज समय
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सुन काण्डको गहिरो अनुसन्धान नभएमा गृहमन्त्री र अर्थको राजीनामा माग्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् । बुटवलमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दलहरू सच्चिन आवश्यक रहेको बताए । उनले भने–‘दलहरू भ्रष्टचार नियन्त्रण दलहरू धेरै परिवर्तन हुन आवश्यक छ । सुन काण्डमा राम्रोसँग अनुसन्धान हुन नसकेमा गृहमन्त्री र अर्थको राजीनामा माग्ने अवस्था आउछ ।’
नेता पौडेलले सङ्घीयतालाई बलियो बनाउनका लागि सांसदहरूको सङ्ख्या घटाउनु पर्नेमा जोड दिए । हालै सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकमा यो विषयले प्रवेश पाएको बताउँदै उनले सङ्घीय संसद्को सङ्ख्या घटाएर २०१ सदस्यीय बनाउने र सोही अनुसार प्रदेशसभामा समेत सङ्ख्या घटाउनु पर्ने उल्लेख गरे । घटाइएको सङ्ख्यामा सबै जातजाति, समुदाय, महिला, सीमान्तकृत लगायत सम्पूर्णको समान प्रतिनिधित्व हुने गरी निर्वाचन प्रणाली लागू गर्नुपर्ने उनले बताए ।
यसरी राजनीतिक प्रशासन र खर्चलाई घटाएर ब्युरोक्रेसीमा हुने खर्चलाई पनि घटाउन सकिने उनले बताए । पौडेलले नेपाली कांग्रेस केन्द्रीय समितिले बैठकमा भएको लाइभ अब निरन्तरता पाउने बताउँदै अब पछाडि फर्कन नसक्ने बताए ।