सय किलो सुन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीको मौन नीति

न्यूज समय

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सय किलो अवैध सुन प्रकरणका सन्दर्भमा अनुसन्धान जारी रहेको भन्दै संसदमा नबोल्ने नीति लिने भएको छ । नागरिकता विद्येयकमा नेकपा एमालेको पछौटे बनेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सय किलो सुन समातिएको प्रकरणमा मौन बस्ने भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भने–‘सुन प्रकरणमा यसो गरौं भन्ने केही छैन ।’ प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणको विषयमा नैतिक जिम्मेवारी लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा।प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताएको छ । संसदमै गृह र अर्थमन्त्रीको राजीनामा माग्ने एमालेको तयारी छ ।

तर, रास्वपाले अनुसन्धानमा रहेको विषयमा संसदमा मौन रहने नीति लिने भएको हो । परियारले भने–‘एमालेले कुनै पनि विषय उठाउन सक्छ्, उठाओस्, रास्वपा एमालेको पछि लाग्दैन् ।’

रास्वपाको पनि संसदीय दलको बैठक बस्दैछ । मंगलबार पनि रास्वपाको संसदीय दलको बैठक बसेको थियो । संसदमा उठाउनुपर्ने विषय र खेल्नुपर्ने भूमिकाका विषयमा संसदीय दलको बैठकमा छलफल हुने तर अन्य प्रतिपक्षी दलहरुले जे जस्ता विषय उठाउँछन् त्यसमा समर्थन जनाएर जाने भन्ने नहुने रास्वपाका नेताहरु बताउँछन् ।