जयनगर–जनकपुर रेल सेवा अब भंगहासम्म

न्यूज समय

जयनगरदेखि कुर्थासम्म चल्दै आएको रेलसेवा आजबाट भंगहा पनि सञ्चालन हुने भएको छ । महोत्तरीको भंगहा नगरपालिकास्थित विजलपुर रेलको अन्तिम स्टेशन हुने भएको हो ।

महोत्तरीको विजलपुर जनकपुरको कुर्थाबाट १७ किलोमिटर अन्तरमा पर्छ । यो सहित जयनगरदेखि रेलसेवा ५१ किलोमिटर हुनेगर्छ ।

विजलपुरसम्मको रेल सेवा विधिवध सञ्चालन भने आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गर्ने कार्यक्रम छ । आइतबार बिहान १० बजे भंगहा स्टेशनमा मन्त्री ज्वालाले उद्घाटन गर्ने छन् ।

रेलसेवाको नियमित सञ्चालन भने सोमबारबाट विजलपुरदेखि जयनगरसम्म हुनेछ । यो सेवासँगै स्थानीयवासीले यातायात सेवामा सहजता पाउने रेल विभागले जनाएको छ ।

यसअघि जयनगरदेखि कुर्थासम्मको सेवा २०७८ चैत १९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा सञ्चालनमा ल्याएका थिए ।