निर्माण व्यवसायीहरु आज काठमाडौंको सडकमा कालो ब्यानरसहित सडकमा निस्किएका छन् । आर्थिक वर्षको अन्तिममा पनि कामको भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायी सरकारविरुद्ध सडक आन्दोलनमा निस्किएका हुन्।
नेपाल निर्माण व्यवसायी महासंघको आह्वानमा भएको विरोध प्रदर्शनमा अर्थमन्त्रीको राजीनामासमेत मागिएको छ । व्यवसायीले बजेट नै नभएको आयोजनाको टेण्डर मागेर सरकारले आफूहरुलाई सडकमा पुर्याएको आरोप छ । कामको भुक्तानीका लागि आफूहरू सडकमै उत्रिन बाध्य पारेको भन्दै उनीहरले आक्रोश पोखेका छन् ।
निर्माण व्यवसायी शुक्रबार माइतीघर मण्डलामा धर्ना दिन पुगेका छन् । उनीहरूले कामको भुक्तानी गर्न नसक्ने अर्थमन्त्री प्रकाशशरण महत पदमा बसिरहन नहुने बताए ।
महासंघ अध्यक्ष रवि सिंहले नेतृत्व गरेको व्यवसायीहरुको प्रदर्शनले भुक्तानीका लागि अनुनय गर्दा पनि सरकारले बेवास्ता गर्दा सडकमै आउनु परेको बताएका छन् ।
आफूहरुले गरेको काम गरेको बिल पेश गर्दा पनि रोकियो । रकम नभएको ४ खर्बको आयोजना किन टेण्डर गराइयो ? व्यवसायीले सरकारलाई प्रश्न गरेका छन् । प्रक्रिया पुर्याएर बिल लिएर जाँदा पनि भुक्तानी रोकिएकोमा उनीहरु रुष्ट छन् ।
न्यूज समय
२९ असार, २०८०, शुक्रबार ००:००