प्रतिपक्षी दलहरुले मागे प्रधानमन्त्रीको राजीनामा

न्यूज समय

एमाले, रास्वपा र राप्रपाले पुष्पकमलले पद त्याग नगरेसम्म संसद चल्न नदिने

व्यावसायिक सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली पुगेर मोदीलाई भनेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति संसदका प्रतिपक्षीहरुले कडा विरोध गरेका छन् ।

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान लिएका छन् । उनीहरुले मंगलबारको सदन चल्न दिएनन् ।

प्रधानमन्त्री दाहालले बुधबार सिंहको किताब विमोचनका क्रममा आफूलाई प्रधानमन्त्री बनाउन उहाँको हात रहेको भन्ने अभिव्यक्तिको विरोध गर्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने चेतावनी दिए ।

‘सम्मानीय प्रधानमन्त्री भनौं कि नभनौं भइरहेको छ । हाम्रो मनमा बादल लागेको छ । यो अभिव्यक्तिले नेपालीको स्वाभिमान गिरेको छ,’ सांसद पन्तको भनाइ थियो, ‘हामी भक्ति थापा, अमर सिंह, वलभद्र कुँवरको सन्तान हौं । के प्रधानमन्त्री राष्ट्रको गरिमाभन्दा ठूलो कुरा हो ? यदि उहाँमा अलिकति पनि नैतिकता छ भने एक मिनेट पनि पदमा बस्नु हुँदैन ।’

सभामुख देवराज घिमिरेले संसद बैठक अघि बढाउन खोज्दा राप्रपा र रास्वपाका सांसदहरू रोस्टम घेर्न पुगेका थिए । संसदमा प्रतिनिधित्व गर्ने मुख्य मुख्य विपक्षी दलको अवरोधका कराण सभामुखले बैठक स्थगित गर्नु भएको थियो ।