नेपाल बारको नयाँ नेतृत्वमा वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र निर्वाचित

न्यूज समय

नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न मत गणना अनुसार अध्यक्ष पदका प्रत्यासी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठलाई २ हजार ४३१ मतान्तरले पछाडी पार्दै मिश्र अध्यक्षमा निर्वाचित भएका हुन् ।
बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट उम्मेदवार बनेका मिश्रले पाँच हजार ५२ मत प्राप्त गरेका थिए भने, व्यावसायिक कानुन व्यवसायी समूहबाटका उम्मेदवार श्रेष्ठले दुई हजार ६२१ मत प्राप्त गर्दै उपविजेता बनेका छन् ।

त्यस्तै उपाध्यक्षहरूमा कोशी प्रदेशमा पदमप्रसाद लिम्बू, मधेस प्रदेशमा अजय शङ्कर झा, बागमतीमा तेजबहादुर रावल, गण्डकीमा भूपेन्द्र खनाल, लुम्बिनीमा कृष्णप्रसाद पोखरेल, कर्णालीमा विवशकुमार बस्नेत, सुदूरपश्चिममा सिद्धराज ओझा, खुला महिलातर्फ सरस्वती श्रेष्ठ विजयी भएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले बताए ।

महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराल दुईहजार ५०७ मतले विजयी भएका छन् ।
कोईरालाले ४ हजार ८७४ मत प्राप्त गर्दा महासचिवका अर्का प्रत्यासी यज्ञमणि न्यौपानेले दुई हजार ३६७ मत प्राप्त गरेका थिए । त्यस्तै कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरूमा चिरञ्जीवी तिलक्यानी (दलित), सूर्यकुमार यादव (मधेसी मुस्लिम काठमाडौँ उपत्यका बाहिर), रिङ्कुकुमारी यादव (मधेसी मुस्लिम खुला), राजकुमार श्रेष्ठ (आदिवासी जनजाति काठमाडौँ उपत्यका बाहिर), मङ्गलसुन्दर शिल्पकार (आदिवासी जनजाति खुला) इन्दिरा आचार्य (महिला काठमाडौँ उपत्यका बाहिर), किरण पौडेल (काठमाडाँै उपत्यका बाहिर) र रञ्जिता कार्की (महिला खुला) विजयी भएका छन् ।

त्यस्तै खुला सदस्यहरूमा किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, डा मुकुन्द अधिकारी र माधव मैनाली विजयी भएका छन् ।
कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी दिएका थिए ।

बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९९७ मतदाता रहेकामा सात हजार ९९५ अर्थात (८० प्रतिशत) मत खसेको प्रमुख निर्वाचन अधिकृत अधिकृत बताए ।