नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले देशका दुई ठुला राजनीतिक शक्तिहरू मिलेर बनेको सरकारले जनताका गुनासालाई अपेक्षाकृत रूपमा सम्बोधन गर्न नसक्नु भनेको सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका प्रभावकारी नभएको बताएका छन् ।
प्रेस युनियन दाङले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता महतले प्रधानमन्त्रीले समन्वय, सन्तुलन मिलाउन नसकेको भन्दै आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु पर्ने बताए । उनले सडकमा चलिरहेको शिक्षक आन्दोलन, गभर्नर नियुक्ति सुशासन कायम लगायतका विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको, समन्वय र सहकार्य नगरेको आरोप लगाए ।
प्रवक्ता महतले सक्षम, योग्य र अर्थतन्त्रलाई मार्गनिर्देश गर्ने गभर्नर नियुक्त हुनुपर्ने पक्षमा कांग्रेस रहेको भन्दै प्रधानमन्त्रीकै कारण गभर्नर नियुक्तिमा विलम्ब भएको बताए । सरकारले चाहे अनुसार काम गर्न नसक्दा जनतामा निराशा बढेको भन्दै उनले राजनीतिक नेतृत्वले अनावश्यक आश्वासन बाढ्दै हिँड्न नहुने पनि बताए ।
अर्को प्रसंगमा प्रवक्ता महतलेले सहकारीमा साना बचतकर्ताको रकम अपचलन भएको भन्दै सम्बन्धित व्यक्तिबाटै असुलउपर गरी बचतकर्तालाई बचत फिर्ता गर्ने काममा सरकार लाग्नुपर्ने बताए । पूर्वराजाले शक्ति आफ्नो हातमा लिने र मनोमानी गर्न खोजेकै कारण गणतन्त्र आएको स्मरण गर्दै उनले पुनः राजा फर्काउने सम्भव नभएको बताए ।
न्यूज समय
१४ बैशाख, २०८२, आईतबार ००:००