जुनसुकै धर्म,सम्प्रदाय भए पनि सबैको लक्ष्य मानव सेवा : राष्ट्रपति पौडेल

न्यूज समय

राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको बताएका छन् ।

शुक्रबार श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिबाट धरानमा निर्मित धर्मशाला उद्घाटनपछि आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।

“जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै हो, हरेक धर्म, सम्प्रदायलाई यही रुपमा बुझ्नसके यसले समाजमा सहिष्णुता बढाउन मद्धत पुग्छ भन्ने म ठान्दछु”, हाम्रा धर्मशास्त्रहरूले पनि सेवालाई अत्यधिक महत्व र प्रधानता दिएको छ उनले भने ।

हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्धत गर्न सक्नुपर्नै पनि बताए ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की तथा जगद् गुरु श्रीकृष्णमणि महाराजलगायतले पनि शुभकामना ब्यक्त गरेका थिए ।