नेपालमा नै अध्ययन गरेर मुलुक निर्माणमा लाग्न युवाहरूलाई प्रकाशमानको आग्रह

न्यूज समय

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै अध्ययन गरेर मुलुक निर्माणमा लाग्न युवाहरूलाई आग्रह गरेका छन् । बुधबार नेविसंघ पाटन संयुक्त क्याम्पसद्वारा नवआगन्तुक विद्यार्थीलाई स्वागत एवम् पुस्तकालय हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा शैक्षिक गुणस्तरको विषयलाई लिएर प्रश्न उठाइने गरेको भए पनि अहिले त्यो अवस्था नरहेको स्पष्ट पारे ।

उनले अहिले अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयमा पढाइ हुने विषयहरू पनि नेपालकै क्याम्पसहरूमा अध्ययन गर्न सकिने अवस्था रहेको उल्लेख गरे । सिंहले नेपालमै अध्ययन गरी नेपाली समाजलाई अगाडि बढाउन युवाहरूले विशेष ध्यान दिन जरुरी रहेको बताए ।

उनले भने–‘शैक्षिक गुणस्तरको कुरालाई लिएर जुन प्रश्न गरिन्छ, त्यो खास गरेर मै विद्यार्थी हुँदा हामीले सीमित विषयहरू छान्न पाउने गर्दथ्यौँ । तर अहिले त्यो अवस्था छैन । हामीले धेरै विषयहरू छानेर अध्ययन गर्नसक्छाँै । अहिले विभिन्न विषयमा अध्ययन गर्न मिल्छ । अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पढाइ हुने विषयहरू अहिले नेपालमै बसेर पढ्न मिल्छ । यहीँ नेपालमै बसेर अध्ययन गरेर समाज अघि बढाउन सकिन्छ, त्यसमै ध्यान दिनुपर्छ ।’