काठमाडौँ । सरकारले संघीय संसद्मा ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ प्रस्तुत नहुने भएका छन् । राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल टुंगोमा नपुगेकाले आज निर्णयार्थ पेस गर्ने निर्णयबाट सरकार पछि हटेको बताइएको छ । संसद बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएपनि अझै बसेको छैन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची नै फेरिएको छन् । बिहान संभावित कार्यसुचीमा अध्यादेशहरू आज निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख थियो ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरेलाई भेटेर प्रधानमन्त्रीको सन्देश सुनाएका छन् । लगत्तै दुवै सदनको कार्यसूची फेरिएको हो । कानुनमन्त्री चौरसियाले नयाँ बानेश्वर नै पुगेर सभामुख घिमिरेलाई प्रधानमन्त्रीको सन्देश सुनाएका थिए ।
न्यूज समय
२४ माघ, २०८१, बिहीबार ००:००