एमाले निकट कानूनव्यवसायीले थाले कांग्रेस निकट कानूनव्यवसायी विरुद्ध मोर्चाबन्दी, माओवादीदेखि रास्वपा निकटसंग गठबन्धन

न्यूज समय

काठमाडौं । नेपाली कांग्रेसको भरथेगमा मुलुकको प्रधानमन्त्री बनेका केपी ओलीको पार्टी नेकपा एमाले निकट कानून व्यवसायीहरूको संगठन पिपिएलले माओवादीनिकट आरपीएलएलगायत ५ दल निकट वकिलहरूलाई समेटेर कांग्रेस निकट वकिलहरूको संगठन विरुद्ध मोर्चाबन्दी थालेको छ । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको केन्द्रीय निर्वाचनको पूर्वसन्ध्यामा एमाले निकट कानून व्यवसायीले मोर्चाबन्दी थालेको हो ।

एक सातापछि हुने गइरहेको बार काउन्सिल निर्वाचनमा एमाले र माओवादीका उम्मेदवारलाई जिताउने र त्यसपछि फागुन २३ मा हुने नेपाल बारको निर्वाचनमा साझा उम्मेदवार बनाएर जाने सहमतिमा एमालेनिकट पिपिएलएका अध्यक्ष भोजराज आचार्य,माओवादीनिकट आरपिएलएका अध्यक्ष रमण कुमार श्रेष्ठ,विप्लव नेकपानिकट पिएलएका अध्यक्ष कपिलचन्द्र पोखरेल,मोहन वैद्यनिकट एनपिएलएका अध्यक्ष देवकुमार मोक्तान र जसपानिकट एफएलएका अध्यक्ष दीपक राईले हस्ताक्षर गरेका छन् ।

यो गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीनिकट संगठनलाई पनि समावेश गर्ने तयारी भइरहेको छ । स्वतन्त्र पार्टी निकट कानून व्यवसायीहरुको संगठनका अध्यक्ष यज्ञमणि न्यौपानेले आफूहरू छलफलमा रहेको बताए । यो मोर्चाबन्दीमा राष्ट्रिय स्वतन्त्र पार्टीनिकट संगठनलाई पनि समावेश गर्ने तयारी भइरहेको छ । स्वतन्त्र पार्टी निकट कानून व्यवसायीहरुको संगठनका अध्यक्ष यज्ञमणि न्यौपानेले आफूहरू छलफलमा रहेको बताए ।

बार काउन्सिलको आगामी माघ २६ गते हुने निर्वाचनमा सातै प्रदेशमा एमाले माओवादी गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने सहमति भएको छ । सातमध्ये ५ प्रदेशमा एमाले र २ प्रदेशमा माओवादीनिकट उम्मेदवार रहेका छन् । सोही सम्झौतामा आगामी नेपाल बार एशोसिएसनको निर्वाचनमा साझा हित दृष्टिकोण र प्रतिबद्धता निर्माण गरी एकताबद्धरुपमा अघि बढ्ने सहमति भएको उल्लेख छ ।

तर यो मोर्चाबन्दीमा नेकपा एसनिकट एसपीएलएलाई भने अलग राखिएको छ । एस निकट संगठनले बार काउन्सिल निर्वाचनमा कांग्रेसलाई समर्थन गरेको छ । नेपालमा बारमा पनि कांग्रेससँग मिलेर चुनाव लड्ने तयारी रहेको सो संगठनले जनाएको छ ।