सहकारी ठगी प्रकरणमा मुछिएका पूर्व सांसद तामाङलाई जरिवाना सहित ३ बर्ष कैद
विशेष अदालतले पूर्व सांसद इच्क्षाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवानाको फैसला सुनाएको छ ।
सिभिल सहकारी ठगी प्रकरणमा मुछिएका तामाङ बिरुद्ध आईतबार सुनुवाई गर्दै विशेष अदालतले त्यस्तो फैसला गरेको अदालत श्रोतले बताएको छ ।
यहि माघ ७ गते कसुर ठहर भएका उनलाई सजाय निर्धारण गर्दै आज इजलासले प्रतिवादी तामाङलाई तीन वर्ष कैदसहित बिगो रकम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ कायम गरेको हो ।
अदालतका अध्यक्ष टेक नारायण कुँवर तथा सदस्यहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तमाङको श्रीमती सिर्जना शाक्यबाट १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो भराई १ वर्ष ६ महिना कैद सजाय हुने समेत ठहर गरेको छ ।
त्यस्तै अदालतले अर्का प्रतिवादी सिभिल सहकारीका अध्यक्ष रहेका केशवलाल श्रेष्ठलाई पनि १ वर्ष ६ महिना कैद सजाय गरिएको छ । श्रेष्ठलाई २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ बिगो भराउने पनि फैसला गरेको छ ।
त्यस्तै अदालतले प्रतिवादीहरु इच्छाराज तामाङ र सिर्जना शाक्यले छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा लुकाएको सम्पत्ति तथा प्रतिवादी केशवलाल श्रेष्ठको श्रीमती मीना श्रेष्ठको नाममा राखिएको सम्पत्तिसमेत जफत हुने पनि फैसला गरेको अदालत श्रोतले बतायो ।