धार्मिक सहिष्णुता, सद्भाव कायम राख्नु आवश्यक : सभामुख
सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने धार्मिक साँस्कृतिक महत्वको गौरा पर्वमा प्रतिनिधिसभका सभामुख देवराज घिमिरेले सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सभामुखले सन्देशमार्फत स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं आरोग्यताको कामना व्यक्त गर्नुभएको हो । उहाँको सन्देशमा गौरा पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता, सद्भाव कायम होस् भन्ने उल्लेख गरिएको छ ।
‘गौरा सुदूरपश्चिमको एक महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो,’ सभामुखद्वारा बिहीबार जारी सन्देशमा उल्लेख गरिएको छ । पार्वतीले कठोर तपस्या गरी शिवलाई पतिका रुपमा प्राप्त गरेको पौराणिक कथनअनुसार यस पर्वमा विशेषगरी गौरी अर्थात् पार्वतीको पूजाअर्चना गरिन्छ ।
गौरापर्वले मानिसमा धार्मिक आस्था र आपसी सद्भाव बढाउन मद्दत पु¥याउने विश्वास गरिन्छ । यस पर्वमा ब्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुख शान्ति प्राप्त हुने र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश हो । संस्कार र संस्कृतिमा फरक भएकैले नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेका छौं ।
संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन् । विभिन्न जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, चाडपर्व, भेषभूषा, रीतिथिति, इतिहास र चालचलन हाम्रा पहिचान हुन् ।