१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

ल्हारक्यालको नियुक्तिले माओवादीमा फाटो

हिजोमात्र लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति पाएका ल्हारक्याल लामाले धेरै आलोचना खेप्नु परेको छ । उनको नियुक्तिलाई लिएर नेकपा माओवादी केन्द्रभित्रै चरम असन्तुष्टिसमेत देखिएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा ल्हारक्याललाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेपछि नेताहरुबीच असन्तुष्टिमात्रै होइन फाटोसमेत देखिएको छ ।

धेरै समयअघि देखि विवादास्पद छविका रुपमा चिनिएका उनलाई मन्त्रिपरिषद् बैठकले कोषको उपाध्यक्षमा चयन गरेको थियो । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका लामा पार्टी अध्यक्ष दाहालको रोजाइको पात्र बन्दा अन्य नेता भने बेखुसी देखिन्छन् ।

हिजोमात्र सकिएको पार्टी केन्द्रीय समिति बैठकले पार्टी रुपान्तरणको अभियान थाल्ने संकल्प गरेको थियो । माओवादीको ‘जनतासँग माओवादी रूपान्तरण अभियान’ भदौ १६ देखि मंसिर १५ गतेसम्म चलाउने निर्णय नै गरेको छ ।

लुम्बिनीमा लामाको नियुक्तमा भने केन्द्रीय सदस्य लेखनाथ न्यौपानेलगायतले रूपान्तरण अभियानको उद्घाटन यहीबाट सुरु भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै नेता न्यौपानेले भनेका छन्, रूपान्तरण अभियानको उद्घाटन भदौ १६ मा गर्ने निर्णय थियो । तर, बैठक सकिएकै दिन लुम्बिनीबाट सुरु भइसकेछ ।

न्यौपानेको स्टाटस आउनासाथ अर्का नेता युवराज चौलागाईंले राजनीतिक नियुक्तिमा योग्यता पुगेका व्यक्ति जाने कुरालाई अस्वाभाविक रुपमा लिन नहुने भन्दै प्रतिउत्तर जनाएका छन् ।

‘कुनै योग्यता र कानुनसँग जोडिएको प्रश्न होइन । राजनीतिक प्रश्नका रुपमा अहिले आएको छ,’ उनी भन्छन्, ‘लामाजी नै योग्य भएको हुनाले यो पद प्राप्त गर्न सफल हुनुभयो । यसको प्रभाव के हुन्छ भन्ने कुरा नेतृत्वले ख्याल गर्नुपर्छ ।’

न्यौपाने र चौलागाईंका भनाइ आएसँगै माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पनि फेसबुकमा स्टाटस लेखेका छन् । उनले ल्हारक्याल लामाको बारेमा छानबिन गर्ने, अनुसन्धान गर्ने र दोषी भए कारबाही गर्ने राज्यका निकाय ज्युँदै छ ।

उनीमाथि यसअघि पनि छानबिन एवं कारबाही नभएको होइन । आगामी दिनमा पनि दोषी ठहरिँदा कारबाहीको भागीदार हुनैपर्छ । यद्यपि सुशासनप्रति आमजनताको खबरदारी र चिन्ता आउनु स्वाभाविकै हो ।

त्यसो त ल्हारक्याल कांग्रेसमा हुँदा पनि गुम्बा विकास समितिको अध्यक्ष बनेका थिए । तयसपछि उनी एमाले हुँदै माओवादी आइपुगेका हुन् । एमालेमा हुँदा राज्यमन्त्री र माओवादी पुगेपछि समानुपातिक सांसद पद हत्याउन सफल भएका थिए ।

यतिबेला भने उनले माओवादी अध्यक्ष दाहालको निगाहमा लुम्बिनी विकास कोषको उपाध्यक्ष पद हत्याउन सफल भए । तर, लामाले भने पत्रकार सम्मेलन गरेर आफू योग्य व्यक्ति भएकाले नै सबै दलले आफूलाई जिम्मेवारी दिएको दाबी गरेका छन् ।

पार्टीहरुले पत्याएर जिम्मेवारी दिँदा मिडियाहरुले भने आफ्नो चरित्र हत्या गरेको उनको आरोप छ । पत्रकार भेटमा लामाले मिडियाहरुकै कारण आफू बदनाम भएको बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*