६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसँग जोड्ने बुद्धसिंह मार्गको काममा राष्ट्रपतिको चासो

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसँग जोड्ने सबैभन्दा छोटो दुरी र पृृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको सहिद बुद्धसिंह मार्गको निर्माण कार्यप्रति राष्ट्रपति रामचन्द्र पौडेलले चासो राखेका छन् । जिल्लावासीले काममा ढिलाइ भएको गुनासो सुनाएपछि राष्ट्रपतिले निर्माणको प्रगतिको जानकारी लिनुका साथै ध्यानाकर्षण गराएका हुन् । राष्ट्रपति पौडेलले सचिवालयका सदस्यलाई सो मार्गको अनुगमनका लागि खटाएका छन् ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेलाई टेलिफोन सम्पर्क गरी विकास निर्माणका कामलाई छिटोछरितो बनाउन समन्वयन गर्न निर्देशन दिएका थिए । साथै, राष्ट्रपति पौडेलले आफ्ना सचिव चिरञ्जीवी अधिकारीसहितको टोलीले हालै उक्त मार्गको स्थलगत निरीक्षण गरेको छ । राष्ट्रपतिका निजी सचिव चिरञ्जीवी अधिकारीले तोकिएको काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएको समन्वय प्रमुख शान्तिरमण वाग्लेले बताए । वाग्लेले भने–‘मलाई टेलिफोन सम्पर्क गरी विकास निर्माणका कामलाई छिटोछरितो बनाउन समन्वयन गर्न निर्देशन दिनुभयो । आफ्नो सचिवालयमार्फत सो मार्गका बारेमा चासो राख्नुभएको छ ।’

तनहुँको सदरमुकाम दमौलीदेखि चितवनको घुमाउने निस्किने बुद्धसिंह मार्गलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको छ । बुद्धसिंह मार्ग मुग्लिन–चितवनमा जोडिएपछि दमौलीबाट चितवन पुग्न २६ किलोमिटर छोटो पर्दछ । पृथ्वी राजमार्गको डुम्रे, आँबुखैरेनी, मुग्लिन हुँदै घुमेर घुमाउने पुग्नभन्दा बुद्धसिंह मार्गबाट जाँदा दुरी कम पर्ने भएकाले इन्धन खपत हुनेछ । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले उक्त मार्गका लागि आवश्यक बजेट विनियोजन गरिएको बताए । मन्त्री आलेले भने–‘रणनीतिक महत्वको सडक बुद्धसिंह मार्ग निर्माणलाई तीव्रताका साथ अगाडि बढाउन प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।’ बुद्धसिंह मार्गमा कालोपत्रेको कामलाई अगाडि बढाउन लागिएको छ ।

दमौलीदेखि सुँडेसम्मको १० किलोमिटर सडक कालोपत्रेका लागि काम भइरहेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । हाल मार्गको कालोपत्रेका लागि कटिङ, टेवा पर्खाल, नाला निर्माण, ग्याबिन तारजाली राख्ने जस्ता पूर्वाधार निर्माणका काम भइरहेको छ । कुल ३४ किलोमिटर दुरीमध्ये पहिलो चरणमा तनहुँको सदरमुकाम दमौलीको बसपार्कदेखि १० किलोमिटर सुँडेको पुलसम्म सात मिटर चौडा हुने गरी पूर्वाधार निर्माणको काम भइरहेको कार्यालयले जनाएको हो । करिब ३२ वर्षअघि खोलिएको यो मार्ग कालोपत्रे नहुँदा सहज रूपमा प्रयोगमा आउन सकेको थिएन । व्यास नगरपालिका–१० का निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले सदमुकाम दमौलीबाट जिल्लाको दक्षिणी भेग कछारका बासिन्दालाई सडकको पहुँचसँग जोड्ने उद्देश्यमा राष्ट्रपति पौडेलको परिकल्पनामा मार्ग खोलिएको जानकारी दिए । पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुन्छ ।

पूर्वाधार विकास कार्यालय तनहुँको सूचना अधिकारी इन्जिनियर धनमाया मिश्रले व्यास नगरपालिका–१, दमौली बसपार्कदेखि आँबुखैरेनी गाउँपालिका–५, घुमाउनेघाटसम्म यस मार्गको कुल लम्बाइ ३४ किलोमिटरमध्ये १० किलोमिटर पक्की सडक निर्माणको काम भइरहेको बताए । ३३ महिनाभित्र सडक सम्पन्न गर्ने गरी २०७९ साल भदौ २७ गते सम्झौता भएको उहाँले जानकारी दिए । भ्याटसहित ३४ करोड २७ लाख ५४ हजार ५६१ रुपियाँको लागतमा सम्पन्न हुने गरी सम्झौता गरिएको उनले जानकारी दिए । कार्यालय अनुसार उक्त मार्गको कुल ३४ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर तनहुँ हाइड्रो पावरको जिम्मेवारीमा पर्ने र बाँकी १६ किलोमिटर पक्की सडक निर्माणका लागि समपूरक योजनामा पार्नका लागि प्रक्रिया अघि बढाएको छ ।

आँबुखैरेनी–५ र भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथि मोटरेबल पुल नबन्दा यात्रु दमौलीदेखि आँबुखैरेनी–५, घुमाउनेघाटसम्म यात्रा गर्न बाध्य छन् । उक्त मार्गको करिब आठ किलोमिटर दुरी तल्लो सेती जलविद्युत् परियोजनाले डुबानमा पार्ने भएकाले नयाँ ट्र्याक खोल्नुपर्ने अवस्था रहेको कार्यालयले जनाएको छ । चितवनको घुमाउनेमा पक्की पुल नहुँदा दमौलीबाट गएका सवारीसाधन पार गर्न मिल्दैन । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निर्माण व्यवसायीको ढिलासुस्तीले गर्दा पुल निर्माण समयमै हुन नसकेको जानकारी दिए। १०५ मिटर लम्बाइ रहेको पुलको लागत नौ करोड ५६ लाख रहेको छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दुरीको बुद्धसिंह मार्गको घुमाउनेको उक्त मोटर गुड्ने पुल सडक विभाग अन्तर्गतको डिभिजन सडक कार्यालय तनहुँको प्राविधिक सहयोगमा निर्माण हुँदै छ । गोरखापत्रबाट

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*