प्रतिनिधि र प्रदेश सभा निर्वाचनकमा ४ हजार २८५ जना उम्मेदवारको धरौटी जफत
निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा धरौटी जफत भएकाहरुको विवरण सार्वजनिक गरेको छ ।
आयोगले आज पत्रकार सम्मेलन मार्फत दुवै निर्वाचनमा १० प्रतिशत मत ल्याउन नसकेका ४ हजार २८५ उमेदवारको धरौटी जफत भएको जानकारी दिएको छ ।
आयोगका अनुसार प्रतिनिधि सभा तर्फ १० प्रतिशत मत पाउन नसकेका कुल एक हजार ९६१ जनाको जमानत जफत भएको छ ।
त्यस्तै प्रदेश सभा तर्फ २ हजार ३२४ जनाको जमानत जफत भएको छ ।
निर्वाचनमा प्रतिनिधि र प्रदेश सभा गरी कुल ५ हजार ६३६ जनाले उम्मेदवारी दिएका थिए ।
त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था बमोजिम प्रतिनिधि सभातर्फ बन्दसूची पेश गर्ने ४७ दलमध्ये ४० वटा दलको धरौटी जफत भएको पनि निर्वाचन आयोगले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
निर्वाचन कानुन अनुसार आयोगले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवारी दिनेले १० हजार रुपैयाँ र समानुपातिक तर्फ बन्द सूची पेश गर्न ५० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने व्यवस्था गरेको थियो ।
त्यस्तै प्रदेशसभामा प्रत्यक्षमा उम्मेदवारी दिनेले ५ हजार र समानुपातिकमा बन्दसूची बुझाउनेले २५ हजार रुपैयाँ धरौटी बुझाउनु पर्ने कानुनी प्रावधान अनुसार धरौटी टाँग्न भनिएको थियो ।