लुम्विनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय रातारात दाङ सारियो
- २० मंसिर, २०७९, मंगलवार ०७:३४
- मुख्य समाचार
- न्यूज समय
बुटवलमा रहेको लुम्विनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय दाङको दउखुरीमा सारिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा रहेका सामानहरु गए राति लुम्विनी प्रदेशको राजधानी दाङको भालुबाङमा सारिएको लुम्विनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले पुष्टि गरे ।
अब देखि मुख्यमन्त्री कार्यालय दाङमै खुल्ने भएकोले ३ वटा ट्रकबाट मन्त्रालयका सरसामान दाङ सारिएको प्रवक्ता शर्माले जानकारी दिए ।
अहिले सामानहरु दाङ देउखुरीको राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा राखिएको छ ।
कार्यालय हाल सार्ने नसार्ने बारे कुनै जानकारी नभए पनि राति एक्कासी सामानहरु सारिएको कर्मचारीहरुले बताएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले अबको अन्तिम मन्त्रीपरिषदको बैठक दाङमा राखेर आफु बिदा हुने तैयारी स्वरुप मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय दाङ सारिएको मुख्यमन्त्री कार्यालय श्रोतले बताएको छ ।
श्रोतका अनुसार हालै सम्पन्न निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण पनि दाङमै खुवाउने तैयार भए अनुसार हतार हतार मुख्यमन्त्री कार्यालय दाङ सारिएको हो ।
त्यस्तै मुख्यमन्त्री केसीले आफ्नो सचिवालय, मन्त्रीपरिषद्को कार्यालय सँगै अर्थ तथा सहकारी मन्त्रालय र प्रदेश कोष तथा लेखा नियन्त्रणको कार्यालय पनि एक साताभित्रै देउखुरीमै सार्ने गरी व्यवस्थापन गर्न पूर्वाधार विकास प्राधिकरणलाई निर्देशन दिईसकेका छन् ।
केहि दिन यता कर्मचारी तथा बुटवल क्षेत्रका राजनीतिक दलहरुले स्थायी संरचना नबन्दै प्रदेश मन्त्रालयहरु दाङमा नसार्न दबाब दिईरहेका थिए ।