२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

पौडेललाई संसदीय दलको निर्वाचनमा प्रतिष्पर्धा गर्न कांग्रेसको कार्यकर्ताको सुझाव


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी संसदीय दलको नेताको निर्वाचनमा प्रतिष्पर्धामा उत्रन नेता कार्यकर्ताहरुले सुझाव दिएका छन् देश विदेशमा रहेका नेता कार्यकर्ताले पौडेलललाई संसदीय दलको नेता बन्नका लागि दबाब दिएका हुन् । केहि नवनिर्वाचित सांसदहरु समेतले उनलाई प्रतिष्पर्धामा उत्रन सुझाव दिएका छन् ।
संसदीय दलको नेताको लागि उम्मेदवारी संबन्धमा
————————————
श्रद्धेय नेता रामचन्द्र पौडेलज्यू,
जय नेपाल

सर्वप्रथम यही मंसीर ४ मा सम्पन्न भएको आम निर्वाचनमा तपाईं आफ्नो निर्वाचन क्षेत्रबाट शानदार ढंगले विजयी हुनुभएकोमा अन्तरहृदयदेखि नै बधाई दिन चाहन्छु ।

अब सबैको ध्यान आगामी सरकार गठनको प्रक्रियातर्फ मोडिएको छ । आगामी सरकारको नेतृत्व गर्ने भनेर सर्वत्र अनुमान गरिएको र आमनिर्वाचनबाट प्रतिनिधिसभामा प्रमुख दल बन्न सफल भएको पार्टी नेपाली कांग्रेसको वरिष्ठ नेताको हैसियतले एक प्रबल दाबेदारको रूपमा तपाईंको नाम पनि भावी प्रधानमन्त्रीको लागि चर्चा हुन थालेको छ । यसै प्रसंगमा म यहाँ बुँदागत रूपमा आफ्नो धारणा व्यक्त गर्न चाहन्छु ।

–नेपाली राजनीतिमा जसको नीति उसैको नेतृत्व भन्ने शब्दावली खूबै प्रयोग हुने शब्दावली हो । विगतमा धेरैपटक यसको सफल प्रयोग भएको पनि हो । मैले बुझे अनुसार अन्यमनस्क अवस्थामा रहनुभएका पार्टी सभापतिलाई प्रधानमन्त्री बनाउने योजना सहित वर्तमान सत्ता गठबन्धन निर्माण गर्ने सूत्रका सूत्रधार तपाईं नै हुनुहुन्छ । ‘जसको नीति उसैको नेतृत्व’ रामचन्द्र पौडेलको हकमा चाहिं लागु हुनुपर्दैन ?

–यसपटक सरकारको नेतृत्व गर्न पाउनु तपाईंको अधिकार हो । पाँच पटकसम्म प्रधानमन्त्रीको रूपमा मुलुकको नेतृत्व गर्ने अवसर पाइसक्नुभएका प्रधानमन्त्रीले आफैले प्रस्ताव गरेर तपाईंलाई संसदीय दलको नेताको कुर्सीमा बसाउनुपर्ने हो भन्ने लाग्छ । कारण जेसुकै भएपनि पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा तपाईंले उम्मेदवारी नदिंदा आफूलाई पुगेको परोक्ष सहयोग पनि पार्टी सभापतिले यस बखत स्मरण गर्नुपर्ने हो । त्यसो होला नहोला तर यदि संसदीय दलको नेताको लागि चुनाव नै हुने भयो भनेपनि तपाईंले कुनैपनि कोणबाट पछाडि हट्न मिल्ने अवस्था देखिंदैन ।

–गत महाधिवेशनमा तपाईंले सभापति पदमा उम्मेदवारी नदिनु एउटा भूल भएकै हो । आफ्नै समूहका प्रकाशमान सिंह वा शेखर कोइरालालाई तपाईंको नेतृत्व स्वीकार्य नभएपछि दुई मध्ये कसैलाई पनि समर्थन नगर्नु शतप्रतिशत सही कदम थियो तर समूहको नेता तपाईं नै हुनुहुन्थ्यो परिणाम जेसुकै आएपनि चुनावमा जानु नै उपयुक्त हुन्थ्यो । अहिले पनि स्थिति त्यही हो ।

–सरकारको नेतृत्वमा युवा पुस्ताको दाबीको चर्चा पनि निकै छ । म विगत लामो समयदेखि संयुक्त राज्य अमेरिकामा छु जहाँ ८० वर्षीय राष्ट्रपति छन् र उनका प्रतिष्पर्धी ७६ वर्षका छन् । यता त धेरै डाँडाकाँडा पनि गर्नुपर्दैन । भर्खरै सम्पन्न भएको निर्वाचनमा तनहुँका डाँडाकाँडा भीरपाखा गर्ने तपाईं कसरी वृद्ध हुनुभयो मैले बुझ्न सकेको छैन । वार्धक्य उमेर होइन मनस्थिति हो ।

–विचार र चिन्तनको खडेरी परेको नेपाली कांग्रेसमा विचार बुझ्ने नेता पनि तपाईं नै हुनुहुन्छ । एकपटक मुलुकले तपाईंको विचारको नेतृत्व पाउनैपर्छ भन्ने लाग्छ ।

सुभाष घिमिरे
चितवन
हालः अमेरिका

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*