नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशन उदघाटनमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् । चौतारीको महाविधेशन आज आइतबार विराटनगरमा शुरू हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनको ओलीले उद्घाटन गर्ने चौतारीले जनाएको थियो । चौतारीको भावी नेतृत्व सर्वसम्मत नहुने देखिएपछि ओलीको सट्टा महाधिवेशनको महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने तय भएको छ ।
चौतारीको अध्यक्ष बन्न उपाध्यक्षहरू गणेश पाण्डे र राजेश राईले दाबेदारी पेश गरेका छन् । एमाले अध्यक्ष ओलीले यसअघि चौतारीका उपाध्यक्ष रहेका राजेश राईलाई अध्यक्ष बनाउनेगरि पाण्डेलाई पार्टीको प्रचार विभागको सचिव बनाएका थिए । पाण्डेले भने आफू अध्यक्षबाट पछि नहट्ने भन्दै प्रचार विभागको सचिवबाट राजीनामा दिइसकेका छन् ।
राई एमालेमा १० बुँदे पक्षधर भएका कारण उनलाई अध्यक्ष बन्न नदिन बढेको लबिइङपछि ओलीले पाण्डेलाई नै अध्यक्ष बनाउन निर्देशन दिएको चौतारीका नेताहरूले बताएका छन् । सुरुमा राईलाई र पछि पाण्डेलाई अध्यक्ष बनाउने आश्वासन ओलीले दिएका कारण चौतारीमा विवाद देखिएको बताइएको छ । पार्टीका नेताहरूले सर्वसम्मत नेतृत्व चयन गर्ने बताउँदै आएका छन् । तर, राईले भने लोकतान्त्रिक प्रतिस्पर्धा हुनुपर्ने अडान राखेका छन् । महाधिवेशनमा देशभरबाट ९ सय प्रतिनिधि सहभागी हुने चौतारीले जनाएको छ ।
न्यूज समय
१० चैत्र, २०८१, आईतबार ००:००