महायज्ञको नाममा घर भत्काइएका दलित परिवारलाई न्याय दिन कांग्रेस सहमहामन्त्री परियारको माग

न्यूज समय

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सिरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञको नाममा दलित समुदायमाथि भएको विभेदबारे घोर भत्र्सना गर्दै पीडित परिवारलाई न्याय दिनका लागि सरकारसँग माग समेत गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलिप यादवसहितका व्यक्तिहरूले औरही गाउँपालिका–५ का स्थानीय दीपक मरिक डोमको घर भत्काएको भन्दै सांसद परियारले आपत्ति जनाएका हुन् ।

महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष यादवले जेसीबी लगाएर दीपक मरिक डोमको घर भत्काएको आरोप छ।

बुधबार पीडित दिपककी श्रीमती अनिता मरिकले आफूहरू बस्दै आएको घर भत्काएर अन्यत्र सर्न लगाइएको बताएकी थिइन् । मरिक परिवार वर्षौँदेखि बस्दै आएको सो स्थानमा भने महायज्ञको तयारी गरिएको छ ।