बीआरआई नेपालका लागि आर्थिक वृद्धिका नयाँ ढोका खोल्ने अवसर हो : सभामुख घिमिरे

न्यूज समय

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)का कारण नेपाल र चीनको ऐतिहासिक सम्बन्ध थप मजबुत भएको बताएका छन् ।

फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसलिजमले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले नेपाल र चीनबीचको आपसी विश्वास, समझदारी र मैत्रीपूर्ण सहकार्यमा आधारित रहेको भन्दै बीआरआईमार्फत दुवै देशबीचको सहकार्य अझै मजबुत हुँदै गएको बताए ।

बीआरआईलाई नेपालका लागि केबल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोका खोल्ने अवसरका रूपमा लिनुपर्ने उनले बताए । उनले लगानी सम्भावनालाई सही रूपमा पहिचान गरी बीआरआईअन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

नेपाल सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने परिप्रेक्ष्यमा सहज स्तरोन्नति र सोको दिगोपनाका निम्ति चीनबाट महत्त्वपूर्ण सहयोग रहने अपेक्षा रहेको उनले बताए । सभामुख घिमिरेले एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालना गर्दै दुई देशबीचको सुमधुर सम्बन्धलाई थप सुदृढ र घनीभूत तुल्याउँदै लैजान नेपाल सदैव तत्पर रहँदै आएको उल्लेख गरे ।