सरकारी जग्गा कब्जा गरेको भन्ने आरोप प्रमाणित गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई केसीको चुनौति

न्यूज समय


नेपाली काँग्रेसका नेता डा. केदारनरसिंह केसीले आफूबिरुद्ध सरकारी जग्गा कब्जा गरेको भन्ने आरोप प्रमाणित गरेर देखाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई चुनौति दिएका छन् । फागुन २८ गतेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठले तारकेश्वर नगरपालिका वडा नम्बर ९ मनमैजुको सरकारी जग्गा काँग्रेस नेताले कब्जा गरेको भनि आरोप लगाएपछि शनिबार पत्रकार सम्मेलन गरेर केसीले आरोप प्रमाणीत गर्न चुनौती दिएका हुृन् ।

उनले आधार र प्रमाण बिना रास्वपा सांसदहरुले वदनियतपूर्ण तरिकाले आञ्छना लगाएको भन्दै सांसदको शुन्य समयमा सांसदद्वयबाट अस्वभाविक रुपमा आधार तथा प्रमाण नै बिना भ्रमपूर्ण प्रचार गरिएको बताए । उनले संसदमा उठाएको विषयलाई प्रमाणित गरी कानूनतः दोषी प्रमाण गर्न चुनौति दिए । रास्वपा सांसदद्वयले आफ्नो चरित्र, साँख, प्रतिष्ठामाथि गरेको प्रहारलाई कानूनी उपचारको बाटो लिने चेतावनी दिए ।

उनका अनुसार मालपोत कार्यालय मनमैजुले गत साउन १६ गते लेखेको पत्रमा २०८१ साउन १४ गते पत्र प्राप्त भएको र सोको सम्बन्धमा काठमाडौं जिल्ला साविक मनमैजु वडा नम्बर ९ सिट नम्बर १०२०९४४२३ कित्ता नम्बर ६२ को क्षेत्रफल २१.६२ वर्गमिटर जग्गा जग्गाधनी केदार नरसिंह केसीका नाममा र कित्ता नम्बर ६३ को क्षेत्रफल २६३.६१ नेपाल सरकारका नममा कार्यालयको मोठ श्रेस्तामा जनिएको व्यहोरा उल्लेख छ । उनले मालपोत कार्यालयले तारकेश्वर नगरपालिकालाई उक्त व्यहोराको पत्र लेखि पठाएपछि स्थानीय वडा कार्यालयले मोठ भिडाउने लगायतका काम गरिसकेको बताए ।

कित्ता नम्बर ६३ प्रश्तावित बाटो भनेर पहिले नै पास भइसकेको बताए । सोही अनुरुप सीमाङ्कन गर्न भनेर एक वर्षअघि नै आफूले निवेदन दिएको र हाल सीमाङ्कनको काम पनि सकिसकेको जानकारी दिए । उनले आफूले कानून विपरित कुनै काम नगरेको दाबी गर्दै सडकका लागि छुट्याइएको कित्ता नम्बर ६३ को सरकारी जग्गा सरकारकै नाममा रहेको र कित्ता नम्बर ६२ आफ्नो नाममै रहेको बताए ।