आरजुको पहलमा श्रम र आप्रवासन समस्याबारे परराष्ट्रसहित गृह र श्रम मन्त्रालयको बैठक

न्यूज समय


काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा नेपाली आप्रवासनका क्षेत्रमा हाल देखिएका समस्याहरुको समन्वयात्मक रुपमा समाधान गर्ने विषयमा आज परराष्ट्र, गृह र श्रम तथा रोजगार मन्त्रीको संयुक्त बैठक सम्पन्न भएको छ । परराष्ट्र मन्त्रालयको अग्रसरतामा मन्त्री डा आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारी र ती मन्त्रालयका सचिवहरु सम्मिलित सो बैठकमा नेपालको श्रम तथा आप्रवासन क्षेत्रलाई थप व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो ।

रोजगारी, अध्ययन तथा अन्य काम व्यवसायका सिलसिलामा नेपालीहरु कहाँ र कसरी पुगेका छन् भन्ने बारे परराष्ट्रलाई थाहा नहुने तर उनीहरुको उद्धार गर्नुपर्ने अवस्थामा मात्र थाहा हुने अवस्था रहेकाले यस विषयमा छलफल गर्न मन्त्री डा राणाले सो संयुक्त बैठक आह्वान गरेकी थिइन् । बैठकमा मन्त्री डा राणाले नेपाल सरकारले प्रतिबन्ध लगाएपनि कतिपय मध्यपूर्वी देशमा घरेलु कामदारका रुपमा नेपाली महिला अवैध बाटोबाट पुगेको उल्लेख गर्दै कुवेतमा मात्र करिब ४८ हजार नेपाली महिला पुगेको भन्ने सुनेको भन्दै भोलि कोही समस्यमा परे भने उनीहरुको सुरक्षा तथा उद्धारको काम चुनौतीपूर्ण हुने भएकाले सरकारले यस्तो प्रतिबन्ध हटाउने विषयमा पनि अब सोच्नुपर्ने बताएकी थिइन् ।

मन्त्री डा राणाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका अव्यवहारिक नीति तथा कानुनहरु हटाएर सहज बनाउनुपर्ने बताउँदै सरकारले कानुनी रुपमा रोकेपनि अवैध बाटोबाट नेपालीहरु आखिर पुगिरहेकै छन् भने यस्ता प्रावधानहरु अब किन राख्ने भन्नेमा छलफल हुन आवश्यक रहेको बताएकी थिइन् । सो बैठकमा गृहमन्त्री लेखकले वैदेशिक रोजगार ऐन, २०६४ लाई अब समयसापेक्ष बनाई संशोधन गर्नुपर्ने सुझाव दिँदै वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्याको समाधानका लागि परराष्ट्र मन्त्रालयले समन्वयात्मक भूमिकाको खोजी गरेकामा सराहना गरे । श्रम तथा रोजगार मन्त्री भण्डारीले श्रम कूटनीति अहिलेको नेपालका लागि अति आवश्यक रहेको बताउँदै घरेलु कामदारको श्रम स्वीकृति सम्बन्धी नविकरण गरेर व्यवहारिक बनाउनुपर्नेमा जोड दिए ।