लेनदेनका विषयमा विवाद हुँदा बैतडीमा गोली प्रहार गरेर एक युवकको हत्या

न्यूज समय

कैलाली । दुई जनाबीच रकम लेनदेनको विषयमा विवाद हुँदा बैतडीमा गोली प्रहार गरेर एक युवकको हत्या भएको छ । दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ विष्टमाथि गोली प्रहार भएको थियो । उनलाई नातामा दाजु पर्ने सोही ठाउँका ४५ वर्षीय कर्ण विष्टले गोली प्रहार गरेको आरोप छ । कर्ण अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । रकम लेनदेनको विषयमा शनिबार दिउँसो दुई जनाबीच विवाद भएको थियो ।

सोही कुरालाई लिएर साँझ उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्युु भएको हो ।