चितवन । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीको १५औं न्यूनतम पनि दुई वर्ष अगाडि नहुने बताएका छन्। शनिबार नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले पार्टीभित्रको राजनीतिक अवस्था र तयारीले महाधिवेशन दुई वर्ष अगाडि गर्न नसकिने बताएका हुन् ।
उनले भने–‘अहिले पनि एक वर्ष त झन्डै ४ वर्षको अवधि पूरा हुन बाँकी नै छ। एक वर्ष थप्ने प्रचलन नै छ। त्यो भन्दा अघि त हाम्रो अधिवेशन गर्ने तयारी पनि पुगेको छैन। कम्तिमा पनि दुई वर्ष त अहिले नै छ ।’ महतले केन्द्रीय समितिको म्याद कति थपिन्छ वा थपिँदैन भन्नेकुरा केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए।
महाधिवेशन आउन अझै धेरै बाँकी रहेका कारण नेतृत्वको दौड आजैदेखि सुरू गर्नुपर्छ भन्ने पक्षमा आफू नरहेको पनि उनको धारणा थियो । उनले भने–‘बरू अहिले पार्टी निर्माणमा दौड लगाउनु पर्छ। पार्टी युनिफाइ गर्न दौड लगाउनुपर्छ। पार्टीभित्र सद्भाव वृद्धि गर्न दौड लगाउनुपर्छ। एक अर्कालाई स्वीकार गर्ने प्रवृत्ति विकास गर्न दौड लगाउनुपर्छ। अहिलेदेखि नै म भनेर दौड किन लगाउनु ।’
महतले सरकारले ल्याएको विधेयकमा भूमिसम्बन्धी विधेयकबारे मात्रै प्रतिपक्ष दलहरुले आपत्ति जनाएको भन्दै त्यसलाई सरकारले प्रतिस्थापन विधेयकमार्फत समाधान गर्न सकिने बताए
न्यूज समय
३ फाल्गुन, २०८१, शनिबार ००:००