किन बोलाए देउवाले सभापति बनाउदा कोर टिममा रहेर सहयोग गरेका नेताहरूलाई बुढानिलकण्ठ ?

न्यूज समय

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई सभापति बन्ने बेलामा सहयोग गरेको नेताहरुको कोर टिमको बैठक बोलाएका छन् । देउवालाई सभापति बनाउँदा कोर टिममा रहेर सहयोग गरेका नेताहरूको बैठकमा देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ ।

उक्त बैठक शुक्रबार बिहानैदेखि जारी रहेको बुढानिलकण्ठ स्रोतको भनाइ छ । बैठकमा पूर्णबहादुर खड्का, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, प्रकाश शरण महत, बालकृष्ण खाँड, एनपी साउदलगायत नेताहरु सहभागी छन् ।

देउवाको टिमका रहेका केहि नेताहरूले गुट परिवर्तन गरेर डा शेखर कोइरालाको गुटमा लागेको समाचार बाहिर आइरहेका बेलामा कोर टिममा रहेका सभापति बनाउन सहयोग गर्ने नेताहरूलाई बुढानिलकण्ठमा बोलाएर छलफल गर्नुलाइ चासोका साथ हेरिएको छ ।

बूढानीलकण्ठ बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ल्याएको अध्यादेश, पार्टीको आन्तरिक समीकरणलगायतको विषयमा छलफल भएको बताइएको छ । बैठकमा सहभागी एक नेताले छलफल पार्टीको आन्तरिक विषयवस्तुसँगै सम्बन्धित रहेको जानकारी दिएका छन् ।