संवैधानिक निकाय र सुरक्षा निकायबाट सेवा निवृतले आत्मवृतान्त र आत्मकथा लेखेर संविधान र कानूनको ठाडो उलंघन गरे : सांसद बस्नेत

न्यूज समय

काठमाडौँ । नेपाली कांग्रेसका सांसद जीतजंग बस्नेतले संवैधानिक निकायदेखि न्यायालय र सुरक्षा निकायका पूर्व पदाधिकारीले आत्मवृतान्त र आत्मकथाको नाममा गोप्य सूचना बाहिएर संविधान र कानूनको ठाडो उलंघन भएको बताएका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका सांसद बस्नेतले सपथ ग्रहण सम्बन्धी कानूनी व्यवस्थाको पनि ठाडो उलंघन भएको दाबी गरे।

उनले संवैधानिक निकाय र राज्यका निकायमा पदासिन भइसकेका व्यक्तिहरुले सस्तो लोकप्रियताका लागि संविधान र कानूनको ठाडो उलंघन गर्ने प्रतिस्पर्धामा रोक लगाउन माग गरेका छन् । सपथ ग्रहरण सम्बन्धी ऐनका अनुसूचिमा उल्लेखित सपथ ग्रहणको ढाँचा बाचन गर्दै सांसद बस्नेतले उक्त सपथ ग्रहणले कुनै पनि पदीय जिम्मेवारीमा रहेको व्यक्तिलाई पदमा बहाल रहँदा वा नरहँदा कानूनको पालना गर्दाबाहेक कुनै पनि अवस्थामा प्रकट वा संकेत गर्न नदिएको बताए।

विगत केही वर्षयता नेपाली सेनाका प्रधानसेनापतिदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीश लगायतका पदाधिकारीहरुले आत्मकथा र सार्वजनिक संजाल तथा मिडियामार्फत कतिपय गोप्य सूचना बाहिर ल्याउने क्रम बढ्दै गएपछि सांसद बस्नेतले यसबारे सरकार र संसदले यसबारे कानूनी स्पष्टतासहितको व्यवस्था गर्न पनि माग गरे।