संघीय संसद्‌का दुवै सदनको बैठक आज, पारित होला अध्यादेश

न्यूज समय


काठमाडौँ । आज संघीय संसद्‌का दुवै सदनको बैठक अलग अलग बस्दै छ । प्रतिनिधि सभा बैठक दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्ने छ । दुवै बैठकमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । दुवै सभाले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची राखेका छन् ।

सरकारले ६ वटै अध्यादेश संघीय संसद् दुवै सदनबाट पारित हुने विश्वास लिएको छ । प्रतिनिधिसभामा सत्तारुढ कांग्रेस एमालेको मात्रै बहुमत पुगे पनि राष्ट्रियसभामा भने बहुमत पुग्न उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल निर्णायक छ । जसपा नेपालले अध्यादेश स्वीकार गर्ने वा अस्वीकार गर्ने विषयमा कुनै निर्णय गरेको छैन । जसपा नेपालले आज मात्रै यसबारे निर्णय गर्ने छ ।

अधिवेशनको पहिलो दिन माघ १८ गते सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश–२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश–२०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ बैठकमा पेस गरेको थियो ।