काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा नयाँ नेतृत्वका लागि पार्टीका दोश्रो तहका ७ जना नेता निकट ७ जनाले अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् । अध्यक्ष पुष्पकमल दाहालको कुनै उम्मेदवार नदेखिए पनि दोस्रो तहका सबै नेताहरूले आफू निकट विद्यार्थीहरुले मैदानमा उतारेका छन् ।
मंगलबार भएको उम्मेदवार मनोनयन दर्तामा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुषाल, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिवहरु जर्नादन शर्मा, वर्षामान पुन र शक्ति बस्नेतले आफू नजिकका विद्यार्थी नेताहरू प्रतिस्पर्धामा उत्रेका छन् ।
उपाध्यक्ष श्रेष्ठले उपदेश यादवलाई अध्यक्षको प्रतिस्पर्धामा उतारेका छन् । अर्का उपाध्यक्ष पम्फा भुसाल निकट विश्वमणि थापाले अध्यक्षमा उम्मेदवारी मनोनयन गरेका छन् । त्यस्तै अर्का उपाध्यक्ष कृष्णबहादुर महराले पारिवारिक नाता सम्बन्ध भएका योगेन्द्र बुढालाई अघि सारेका छन् ।
उपमहासचिव जनार्दन शर्माले हेमन्त राईलाई अध्यक्षमा अघि सारेको छ । राईलाई भोजपुरका भएका कारण नेता सुदन किराँतीको समेत समर्थन छ । अर्का उपमहासचिव वर्षमान पुनले सुदिन पौडेललाई अघि सारेका छन् भने उपमहासचिव शक्ति बस्नेतले विजय सापकोटालाई उम्मेदवार बनाएका छन् ।
डा. बाबुराम भट्टराईसंगै माओवादी छोडेर देवेन्द्र पौडेलसंगै माओवादी केन्द्रमा फर्किएका विद्यार्थीहरुको समूहबाट तिर्सना हमालले पनि अध्यक्षमा उम्मेदवारी दिएकी छन् ।
न्यूज समय
९ माघ, २०८१, बुधबार ००:००