काठमाडौ । टर्कीको एक होटलमा भीषण आगालागी हुँदा ७६ जनाको मृत्यु भएको छ। बोलुमा रहेको स्की रिसोर्ट ग्रान्ड कार्टल होटलमा भएको आगलागीमा परी ७६ जनाको मृत्यु हुँदा कम्तीमा ५१ जना घाइते भएका छन्। १२ तले होटलको चौथो तलाको रेस्टुरेन्ट क्षेत्रबाट आगलागी सुरु भएको प्रारम्भिक रिपोर्टले जनाएको छ।
आगो माथिल्लो तल्लाहरूमा छिट्टै फैलिएको थियो। बोलुका गभर्नर अब्दुलअजीज आयडिनले आगो सुरु हुँदा होटलमा २ सय ३४ जना पाहुना रहेका बताएका छन्। टर्कीको गृह मन्त्रालयले आगलागीपछि प्रारम्भिक मृतक संख्या ७६ पुगेको पुष्टि गरेको अलजजिराले जनाएको छ । दुई जनाको मृत्यु झ्यालबाट हामफालेर भएको टर्कीका रिपोर्टहरूले जनाएका छन्।
उद्धार प्रयासको क्रममा झ्यालबाट लुगा झुण्ड्याएर भाग्न खोजिरहेका व्यक्तिहरूको दृश्यहरू सार्वजनिक भएका छन्। गभर्नर आयडिनले आगलागीको बेला पाहुनाहरू कोठामा फसेका थिए कि थिएनन् भन्ने अनुसन्धान भइरहेको बताएका छन्। होटलको स्थान र चिसो मौसमका कारण अग्नि नियन्त्रणका गाडीहरू पुग्न एक घण्टाभन्दा बढी समय लागेको थियो।
बिहानसम्म २ सय ६७ जना उद्धारकर्मीले आगलागी नियन्त्रण र उद्धारमा खटिएका थिए। स्थानीय मेयरले बिहानको समयमा पनि होटलका केही भागहरूमा पुग्न प्रयास भइरहेको बताएका छन्। आगोको कारण र यसले निम्त्याएको क्षतिको थप विवरणहरु आउने क्रम जारी छ।
न्यूज समय
९ माघ, २०८१, बुधबार ००:००