काठमाडौँ । नेपाली कांग्रेसका १३ वटा भ्रातृ संगठन छन् । ती मध्ये पनि नेपाल विद्यार्थी संघ, नेपाल तरुण दललाई शसक्त भ्रातृ संगठन मानिन्थ्यो कुनै बेला । त्यसपछि महिला संघ अरु अरु भ्रातृ संगठनको नाम आउथ्यो । यीनै भ्रातृ संगठन मध्ये प्रजातन्त्र सेनानी संघ पनि एक हो । तर प्रजातन्त्र सेनानी संघलाई ‘रिटार्यड’हरू लाई थन्काउने संगठनका रुपमा लिने गरिन्थ्यो र सबैको बुझाई पनि त्यही थियो । अहिले नेपाली कांग्रेसका १३ वटा भ्रातृ संगठन मध्ये सवैभन्दा चलायमान यो नेपाल प्रजातन्त्र सेनानी संघ बनेको छ । त्यो पनि प्रजातन्त्र सेनानी संघका अध्यक्ष बालकृष्ण दाहालका कारण ।
ओखलढुंगाका दाहाललाई कांग्रेस सभापति शेरबहादुर देउवाले संघको केन्द्रीय अध्यक्षमा २०८० साल मंसिर १२ गते नियुक्त गरेका थिए । यो १४ महिनामा दाहालले प्रजातन्त्र सेनानी संघका सवै जिल्ला तथा प्रदेश अधिवेशन सकेर केन्द्रीय महाधिवेशनको मिति घोषणा गरेका छन् । जवकी नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ जस्ता भ्रातृसंस्थाले महाधिवेशनको तयारी समेत थाल्न सकेका छैनन् । दाहालका भन्दा २ वर्ष अगाडि नेविसंघ र तरुण दलमा नेतृत्व चयन भएको थियो । तरुण दल र नेविसंघमा बिद्धान गुरुङ र डुजाङ शर्पालाई २०७८ चैत्रमा अध्यक्षको जिम्मेवारी दिइएको थियो । महिला संघमा उषा मिश्रलाई त्यसको एक वर्षपछि २०७९ साउनमा अध्यक्षको जिम्मेवारी दिइएको थियो । तर यी कुनैपनि भ्रातृसंस्थाले महाधिवेशन गराउने सुरसार गरेका छैनन् ।

अध्यक्ष दाहालले प्रजातन्त्र सेनानी संघको केन्द्रीय महाधिवेशन आउँदो फागुन ७ गते पार्टी केन्द्रिय कार्यालयमा गर्ने गरि मिति तय भएको बताए । उनले महाधिवेशन फागुन ७ गतेदेखि १० गतेसम्मा पार्टी केन्द्रिय कार्यालयमा हुने बताए । उनले महाधिवेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने जानकारी दिए ।
ओखलढुंगामा जन्मेका दाहाल शहिद लिला दाहालका छोरा हुन् । उनका पिताजी नेपाली कांग्रेसले २०३१ सालमा थालेको सशस्त्र आन्दोलनका बेलमा पंचायती शासकले बानरसबाट बम लिएर आउदै गर्दा मकवानपुरको भैंसेबाट गिरफ्तार गरि नख्खु जेलमा राखिएको थियो । नख्खुबाट जेल सार्ने बाहनामा दाहालका पिता लिलालाई नख्खुमा नै गोली हानी पंचायतले मारेको थियो ।

पिताजी मारिएपछि दाहालको संरक्षण कोइराला परिवारले गरेको थियो । बालकृष्ण दाहाल लामो समयसम्म तत्तकालिन सभापति गिरिजाप्रसाद कोइरालाको स्वकिय सचिवका रुपमा पनि काम गरे । उनि २०६४ सालमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए ।

पार्टीले प्रजातन्त्र सेनानी संघको केन्द्रीय अध्यक्षमा २०८० साल मंसिर १२ गते नियुक्त गरेपछि नै उनी जिल्ला जिल्ला पुगेर संगठनलाई चलायमान बनाएका थिए । उनले डा शेखर कोइराला, पूर्वमहामन्त्री डा शशांक कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका केन्द्रीय नेताहरूलाई प्रमुख अतिथि बनाएर भब्य रुपमा प्रदेश अधिवेशन सम्पन्न गरेका थिए ।

न्यूज समय
६ माघ, २०८१, आईतबार ००:००