सरकारका कामकारवाहीको समिक्षा गर्दै कांग्रेस, देउवा निवासमा आज पदाधिकारी र मन्त्रीहरूको बैठक

न्यूज समय

काठमाडौं । नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारका कामबारे समिक्षा गर्ने भएको छ । सो समिक्षाका लागि सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र मन्त्रीहरूलाई आफ्नो निवास बुढानीलकण्ठ बोलाएका छन् ।

सभापति देउवाले आज बिहान ८ वजे बस्ने गरी पदाधिकारी र मन्त्रीहरूको बैठक बोलाएका हुन् ।

पछिल्लो समय ओली नेतृत्वको सरकारको कामबारे प्रश्न उठिरहेको छ । कांग्रेसकै नेताहरू शेखर कोइराला र एनपी साउदसहितले यहीँ तरिकाले सरकार चलिरहे जनअसन्तुष्टि बढ्दै जाने बताइरहेका छन् ।

सरकार गठनको ६ महिना बितिसक्दा पनि सरकारले परिणाम दिन नसकेको गुनासो जनस्तरमा बढिरहेको छ । यहीँ सन्दर्भमा कांग्रसबिाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको समेत कामको समीक्षा गर्ने गरी यो बैठक बस्न लागेको हो ।